नालागुम्बामा प्रहरीमाथि चक्कु प्रहार, सई घाइते; चार जना पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ पुष २०८२, बिहीबार ०६:४७

काठमाडौँ ।  भक्तपुरको सूर्यविनायक नगरपालिका–स्थित नालागुम्बामा मोटरसाइकल चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमण भएको छ। आक्रमणमा उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) सञ्जिव केसी घाइते भएका छन्।

मोटरसाइकल चोरीका आरोपीले चक्कु प्रहार गर्दा सई केसीको दाहिने ढाड र छातीमा गहिरो चोट लागेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले जानकारी दिएका छन्। घाइते केसी भक्तपुरको चाँगुनारायण नगरपालिका निवासी हुन् र अपराध अनुसन्धान कार्यालयको भक्तपुर शाखामा कार्यरत थिए।

बुधबार इन्स्पेक्टर हेम थपलियाको कमाण्डमा गएको प्रहरी टोलीमाथि चोरीमा संलग्न समूहले नालागुम्बास्थित एक स्थानीय रेष्टुरेण्टमा जम्काभेटका क्रममा आक्रमण गरेको हो।

घटनापछि प्रहरीले आक्रमणमा संलग्न चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई भक्तपुर बस्दै आएका २६ वर्षीय सागर शंकर सोती, २५ वर्षीय सन्तोष दुलाल, सिराहा घर भई ताथली बस्दै आएका २० वर्षीय बिरेन्द्र मलिक र काठमाडौँ महानगरपालिका–२७ का २१ वर्षीय अभय तुलाधर रहेका छन्।

पक्राउ परेकामध्ये एक जना जेनजी आन्दोलनका क्रममा फरार भएका कैदी भएको प्रहरीले जनाएको छ। घाइते सई केसीको महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचार भइरहेको छ। साथै, आरोपीहरूले प्रयोग गरेका दुई वटा मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply