काठमाडौं, पुस २३ – राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरूको मनोनयन हुँदैछ। निर्वाचन आयोगले आगामी माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन गर्ने कार्यतालिका तय गरेको छ। राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो।
आयोगले यसअघि यही पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको थियो। त्यसपछि मङ्गलबार मतदाता नामावलीमा कुनै दाबी–विरोध भए नभएको यकिन गरी अन्तिम मतदाता नामावलीसमेत सार्वजनिक गरिसकेको छ।
निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ।
निर्वाचन तालिकाअनुसार पुस २४ गते उम्मेदवारविरुद्ध उजुरी दिने, पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने तथा सोही दिन दिउँसो अन्तिम उम्मेदवार नामावली प्रकाशन गरिनेछ। त्यसैगरी पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ।
मतदान भने आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने छ। राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुँदैछ।
आयोगले राष्ट्रिय जनगणना २०७८ का आधारमा मतदाता संख्या र मतभारसमेत सार्वजनिक गरिसकेको छ। राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष मतदाता रहने व्यवस्था छ।
प्रतिक्रिया