काठमाडौँ । अध्यक्ष केपी शर्मा ओलीको स्थानहद फुकुवा भएपछि नेकपा (एमाले)ले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै चुनावी सक्रियता तीव्र बनाएको छ।
जेनजी आन्दोलनका क्रममा प्रधानमन्त्री रहेका ओलीसँग जाँचबुझ आयोगले सोधपुछ गरेको केही दिनपछि सोमबार उनको स्थानहद फुकुवा गरिएको थियो। त्यसको भोलिपल्टै मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रतिनिधिसभा निर्वाचनको तयारीसम्बन्धी औपचारिक निर्णय गरेको हो।
बैठकले चुनावी घोषणापत्र मस्यौदा समिति गठन गरेको छ। साथै जनपरिचालन समिति गठन, नेताहरूलाई अस्थायी जिम्मेवारी तोक्ने लगायतका निर्णयसमेत गरेको छ। प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै आएको एमालेले अन्य दलभन्दा अघि नै निर्वाचनका लागि औपचारिक तयारी थालेको हो।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा उपाध्यक्ष रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र सदस्यसचिव विष्णु रिमाललाई चुनावी घोषणापत्र मस्यौदा समितिमा समेट्ने निर्णय गरेको छ।
त्यस्तै, निर्वाचन परिचालन समितिको संयोजकमा उपाध्यक्ष रामबहादुर थापा र सदस्यहरूमा छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल, मीनबहादुर शाही र भीष्म अधिकारी रहेका छन्।
एमालेले निर्वाचन अभियान सञ्चालनका लागि प्रदेश इन्चार्जसमेत तोकेको छ। कोशी प्रदेशमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा महेश बस्नेत, राजधानीमा राजन भट्टराई, गण्डकीमा खगराज अधिकारी, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा यामलाल कँडेल र सुदूरपश्चिममा गणेश ठगुन्नालाई इन्चार्जको जिम्मेवारी दिइएको छ। संगठन विभागको इन्चार्जमा सचिव भानुभक्त ढकाल तोकिएका छन्।
सचिवालय बैठकले ७७ वटै जिल्लामा भूगोल केन्द्रित रूपमा केन्द्रीय सदस्य परिचालन गर्ने निर्णय पनि गरेको छ। “बैठकले पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई निर्वाचनमा केन्द्रित रहन निर्देशन दिएको छ,” उपमहासचिव लेखराज भट्टले बताए।
यसैबीच, सचिव राजन भट्टराईले शान्ति–सुरक्षाको अवस्था चुनौतीपूर्ण रहेको उल्लेख गर्दै सरकारले निर्वाचनको अनुकूल वातावरण बनाउन नसकेको आरोप लगाए। तर एमाले भने निर्वाचन कार्यक्रमअनुसार अघि बढिरहेको र चुनावको तयारीमा जुटेको उनको भनाइ छ।
“हामी चुनावमा जाने नै हो। तर अहिलेको राजनीतिलाई सही दिशामा ल्याउन संसद् पुनर्स्थापनाको मुद्दा कायम राखेका छौँ,” उनले भने।
प्रतिक्रिया