१७ वर्षीया किशोरी अविना वैधको हत्या आफ्नै प्रेमीबाट भएको खुलासा, एक महिनापछि अभियुक्त पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ पुष २०८२, बुधबार ०७:०६

काठमाडौँ ।  सिराहाको कर्जन्हा नगरपालिका–१ बल्टियाकी १७ वर्षीया किशोरी अविना वैधको हत्या आफ्नै प्रेमीबाट भएको खुलासा भएको छ। घटनापछि फरार रहेका धनुषा क्षिरेश्वर नगरपालिका–३ का ४५ वर्षीय रामबालक चौधरीलाई एक महिनापछि मंगलबार सिराहा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार अविना र चौधरीबीच पहिलेदेखि नै प्रेम सम्बन्ध रहेको खुलेको छ। चौधरी विवाहित व्यक्ति हुन् र उनका एक सन्तान छन्। पछिल्लो समय श्रीमतीसँग विवाद भएपछि उनी अलग्गै बस्दै आएका थिए।

गत मंसिर २२ गते कर्जन्हा नगरपालिका–२ स्कुल टोलस्थित कमला सिँचाइ नहर नजिकको झाडीमा अविनाको शव फेला परेको थियो। केन्द्रीय अनुसन्धान ब्युरो, मधेश प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सिराहा र इलाका प्रहरी कार्यालय मिर्चयाको संयुक्त टोलीले घटनाको अनुसन्धान गरेको थियो। अनुसन्धानबाट चौधरीले नै हत्या गरेको खुलेको सिराहाका प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालले जानकारी दिए।

प्रहरीका अनुसार मंसिर २१ गते राति चौधरीले धनुषाको पोर्ताहास्थित एक होटलमा मादक पदार्थ सेवन गरेका थिए। सोही राति उनले अविनालाई पटक–पटक फोन गरेका थिए। साँझ साढे ८ बजे दुवैबीच फोनमा कुराकानी भएको र त्यसपछि भेट्न बोलाएको अनुसन्धानबाट खुलेको छ।

राति करिब सवा ९ बजे अविना चौधरीको डेरामा पुगेकी थिइन्। त्यसपछि उनीहरू कमला नदी किनार हुँदै घर फर्कने क्रममा घटनास्थल नजिक पुगेका थिए। सो स्थानमा सहमतिमै शारीरिक सम्पर्क भएको प्रहरी अनुसन्धानमा उल्लेख छ।

प्रहरीका अनुसार अविनाले चौधरीसँग विवाहको प्रस्ताव राख्दै आएकी थिइन्। तर अविनाले अन्य पुरुषसँग फोन तथा अडियो–भिडियो कल गर्ने गरेको विषय चौधरीलाई मन नपरेको र यस विषयमा दुवैबीच पहिले पनि विवाद हुने गरेको देखिएको छ।

अन्य पुरुषसँग सम्बन्ध रहेको आशंकामा आवेशमा आएर चौधरीले अविनाको घाँटी थिची ढुङ्गाले दाहिने गालामा प्रहार गरेको अनुसन्धानबाट खुलेको छ। अविना बेहोस भएपछि उनलाई नजिकैको झाडीमा लगेर अनुहार किची हत्या गरी फरार भएको डीएसपी पालले बताए।

पक्राउ परेका चौधरीलाई सिराहा जिल्ला अदालतबाट म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

प्रतिक्रिया

slot gacor