प्रधानमन्त्री कार्कीको आह्वान: सामाजिक सद्भाव कायम गर्दै शान्तिपूर्ण निर्वाचन सम्पन्न गरौँ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ पुष २०८२, मंगलवार ०७:३२

काठमाडौँ ।  प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सद्भाव कायम राख्दै स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न सबै पक्षलाई जिम्मेवार भूमिका खेल्न आह्वान गरेकी छन्।

सोमबार साँझ बालुवाटारमा पूर्वसांसद मञ्चको प्रतिनिधिमण्डलसँग भएको भेटघाटका क्रममा प्रधानमन्त्री कार्कीले मुलुकको वर्तमान अवस्था संवेदनशील रहेको उल्लेख गर्दै संयम, सहिष्णुता र सामाजिक सद्भाव अत्यन्त आवश्यक रहेको बताइन्।

उनले निर्वाचनलाई मुलुकको राष्ट्रिय दायित्वका रूपमा व्याख्या गर्दै समाजका सबै वर्ग, समुदाय र राजनीतिक दलहरूले जिम्मेवारीपूर्वक आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने धारणा राखिन्।

प्रधानमन्त्री कार्कीले भनिन्,

“अहिले मुलुकको अवस्था निकै संवेदनशील छ। प्रत्येक नेपाली नागरिकले ‘देश मेरो पनि हो’ भन्ने जिम्मेवारीबोधका साथ भूमिका खेल्नुपर्नेछ। समाजमा शान्ति र सद्भाव कायम राख्दै स्वच्छ र भयरहित निर्वाचन सम्पन्न गर्न सबैको जिम्मेवार भूमिका आवश्यक छ।”

उनका अनुसार देशका सबै राजनीतिक दल निर्वाचनका लागि तयारी अवस्थामा छन् र अबको प्रमुख चुनौती मतदाता शिक्षा र जनचेतना अभिवृद्धि हो। यसका लागि सरकार मात्र नभई सामाजिक संघसंस्था, नागरिक समाज र अनुभवी व्यक्तिहरूको सामूहिक प्रयास आवश्यक रहेको उनले बताइन्।

प्रधानमन्त्री कार्कीले निर्वाचनले मुलुकलाई राजनीतिक निकास दिने विश्वास व्यक्त गर्दै नयाँ पुस्ताको हातमा शासन व्यवस्था सुम्पिन सके देशले सही लय समाउने उल्लेख गरिन्। लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्दै भविष्यप्रति आशावादी बन्न निर्वाचन महत्वपूर्ण अवसर भएको उनको भनाइ थियो।

भेटघाटका क्रममा पूर्वसांसद मञ्चका प्रतिनिधिहरूले पनि शान्तिपूर्ण निर्वाचनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

प्रतिक्रिया