काठमाडौं। गोकर्णेश्वर नगरपालिका वडा नं. ९ ले बालबालिकाको क्षमता विकासलाई लक्षित गर्दै निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ। वडा कार्यालयले सूचना जारी गर्दै नेपाली हस्तलेखन, ब्याडमिन्टन र साइक्लिङसम्बन्धी तालिम सञ्चालन गर्न लागिएको जानकारी दिएको हो। सूचनाअनुसार वडा नं. ९ को आयोजनामा सञ्चालन हुने उक्त तालिममा सहभागी हुन इच्छुक बालबालिकाले आफ्नो परिचय खुल्ने कागजातको फोटोकपीसहित मिति २०८२ साल माघ १४ गतेसम्म वडा कार्यालयमा सम्पर्क गर्नुपर्नेछ। कक्षा १ देखि कक्षा ६ सम्म अध्ययनरत बालबालिकालाई मात्र तालिममा सहभागी गराइने जनाइएको छ। यस सम्बन्धमा वडा अध्यक्ष राजीव थापा ले बालबालिकाको सर्वाङ्गीण विकासका लागि स्थानीय तहले सक्रिय भूमिका खेल्नुपर्ने बताए। उनले भने, “बालबालिकाको प्रारम्भिक उमेरमै सीप, अनुशासन र सिर्जनशीलता विकास गर्नु अत्यन्त जरुरी छ। यही उद्देश्यले हस्तलेखन, खेलकुद र साइक्लिङजस्ता व्यवहारिक तालिमहरू सञ्चालन गर्न लागेका हौँ। यसले बालबालिकाको आत्मविश्वास बढाउनुका साथै भविष्य निर्माणमा सहयोग पुर्याउनेछ।” वडा अध्यक्ष थापाका अनुसार आगामी दिनमा पनि बालबालिका तथा किशोर–किशोरी लक्षित शैक्षिक, खेलकुद र सीप विकाससम्बन्धी कार्यक्रमहरू निरन्तर सञ्चालन गरिनेछ। तालिमसम्बन्धी थप जानकारीका लागि वडा कार्यालयको सम्पर्क नम्बर ०९८४९०६५५६ मा सम्पर्क गर्न सकिने जनाइएको छ।
प्रतिक्रिया