विकासको सुस्त गति र सुशासनको कमजोरीले नवयुवामा गहिरो असन्तुष्टि : अर्थमन्त्री खनाल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ पुष २०८२, सोमबार ०६:०१

काठमाडौँ ।  अर्थमन्त्री रामेश्वर खनालले मुलुकमा विकासको गति सुस्त हुनु र सुशासनमा देखिएका कमजोरीका कारण आम नवयुवा पुस्तामा गहिरो असन्तुष्टि रहेको बताएका छन्।

आइतबार ललितपुरमा आयोजित विकास बहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा बोल्दै मन्त्री खनालले नवयुवामा देखिएको असन्तुष्टि समय–समयमा विभिन्न घटनाक्रममार्फत प्रकट हुँदै आएको उल्लेख गरे।

“हाम्रो मुलुकमा विकासको गति सुस्त र सुशासनमा रहेका कमजोरीहरूको कारणले आम नवयुवा पुस्तामा ठूलो असन्तुष्टि छ,” उनले भने, “त्यो असन्तुष्टि बेला–बेलामा प्रकट हुँदै आएको अवस्था पनि छ।”

उनका अनुसार हाल देखिएको राजनीतिक परिस्थितिसमेत नवयुवाले व्यक्त गरेको असन्तोष र विद्रोहको परिणाम हो। आगामी २१ फागुनमा हुने निर्वाचनमार्फत आम नागरिकले विकासको गति तीव्र बनाउने, सुशासनको अनुभूति दिलाउने तथा स्रोत र सम्पत्तिमाथिको अतिक्रमण घटाउँदै भ्रष्टाचार नियन्त्रण गर्न सक्ने राजनीतिक शक्तिलाई सत्तामा ल्याउने विश्वास उनले व्यक्त गरे।

मुलुकमा विकाससम्बन्धी नीति र योजनाको अभाव नरहेको उल्लेख गर्दै मन्त्री खनालले पञ्चवर्षीय योजना, दीर्घकालीन रणनीतिक योजना, मन्त्रालयका व्यावसायिक योजना तथा निजी क्षेत्रका योजनामा विकासको स्पष्ट खाका भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको बताए।

“हामीकहाँ पञ्चवर्षीय योजना, दीर्घकालीन रणनीतिक योजना, मन्त्रालयका बिजनेस प्लानहरू र निजी क्षेत्रका आफ्नै योजनामा विकासको रुपरेखा व्यक्त भएको छ,” उनले भने, “तर त्यसलाई कार्यान्वयन गर्ने इच्छाशक्ति, इमानदारिता र परिणाम ल्याउन सक्ने व्यवस्थापनको अभाव छ।”

उनले विकास र समृद्धिको बहसमा सीमित नरही व्यवहारमै देखाउनुपर्नेमा जोड दिँदै यी तीनै पक्ष केवल छलफलबाट नभई अभ्यासबाटै हासिल गर्न सकिने स्पष्ट पारे।

प्रतिक्रिया

Leave a Reply