काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले नगर क्षेत्रमा हाल करिब २ अर्ब रुपैयाँ बराबरका खानेपानी आयोजना सञ्चालनमा रहेको बताएका छन्। वडा नम्बर–७ स्थित ऐतिहासिक सोमतिर्थ मन्दिरको प्रवेशद्वारमा निर्माण गरिएको फल्चाको उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख कार्कीले नगरवासीलाई स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउने लक्ष्यका साथ ठूला आयोजना अघि बढाइएको जानकारी दिएका हुन्।
नगरपालिकाको सहयोगमा १५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त ऐतिहासिक फल्चाको आज औपचारिक रूपमा उद्घाटन गरिएको हो।
उद्घाटन कार्यक्रममा नगर प्रमुख कार्कीले भने,
“कागेश्वरी मनोहरा नगरपालिकामा हाल करिब २ अर्ब रुपैयाँ बराबरका खानेपानी आयोजना सञ्चालनमा छन्। नगरवासीलाई दीर्घकालीन रूपमा खानेपानीको समस्या नहोस् भन्ने उद्देश्यले हामीले प्राथमिकताका साथ यी योजना अघि बढाएका हौँ।”
उनले धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण नगरपालिकाको महत्वपूर्ण दायित्व रहेको उल्लेख गर्दै सोमतिर्थ मन्दिरजस्ता आस्थाका केन्द्रहरूको संरक्षण र पूर्वाधार विकासमा नगरपालिकाले निरन्तर लगानी गर्दै आएको बताए।
नगर प्रमुख कार्कीका अनुसार फल्चा निर्माणले मन्दिरमा दर्शनका लागि आउने श्रद्धालु तथा स्थानीय बासिन्दालाई सहजता प्रदान गर्नुका साथै स्थानीय कला, संस्कृति र पहिचान जोगाउन सहयोग पुग्नेछ।
प्रतिक्रिया