काठमाडौँ । गायिका ज्योति मगर बेला–बेला आफ्नो मञ्चीय प्रस्तुति, बोल्ड अवतार र स्पष्ट अभिव्यक्तिका कारण चर्चामा आइरहन्छिन्। स्टेजमा दर्शकलाई मनोरञ्जन दिन उनी अपनाउने शैली र लवाइ–ढंगले सधैँ चर्चा पाउने गरेको छ।
उनको प्रस्तुतिसँगै प्रायः विवादमा तानिने अर्को पक्ष भनेको द्विअर्थी अभिव्यक्ति हो। दर्शकलाई उत्साहित र आकर्षित गर्न उनले प्रयोग गर्ने शब्द र शैलीलाई विभिन्न अर्थमा बुझ्न सकिने भएकाले उनी पटक–पटक सामाजिक सञ्जालको बहसमा पर्छिन्।
यस्तै, हालै बुटवलमा जारी राष्ट्रिय औद्योगिक प्रदर्शनी मेलाको मञ्चमा देखिएको एउटा दृश्यले फेरि ज्योति मगरलाई चर्चाको केन्द्रमा ल्याएको छ। मेलामा आफ्नो नियमित ‘बोल्ड’ शैलीमा दर्शकसँग संवाद गरिरहेकी ज्योति मगरको प्रस्तुति चलिरहेका बेला गायक बद्री पंगेनी अचानक स्टेजमा प्रवेश गरेका थिए।
पंगेनीले हातमा बोकेको पछ्यौरी दर्शकदीर्घाको ध्यानाकर्षण गराउँदै ज्योतिको कम्मरमा बेरिदिएका थिए। त्यसपछि उनले कुनै प्रतिक्रिया नजनाई मौन रहँदै स्टेज छाडेका थिए।
तर त्यसपछिको ज्योति मगरको प्रतिक्रिया भने दर्शकमाझ विशेष चर्चा बन्यो। पछ्यौरी बेरिएलगत्तै उनले माइकमार्फत दिएको द्विअर्थी अभिव्यक्तिले मञ्च र दर्शकदीर्घामा हुटिङ र चर्को प्रतिक्रिया उत्पन्न गराएको थियो।
उक्त अभिव्यक्तिसँगै मञ्चको वातावरण थप उत्साहित बनेको देखिएको थियो। कार्यक्रमस्थलमा उपस्थित दर्शकहरूले चर्को हुटिङ गरेका थिए भने त्यस क्षणका भिडियो क्लिपहरू अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भइरहेका छन्।
ज्योति मगरको यो मञ्चीय प्रस्तुति र अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा समर्थन र आलोचना दुवै प्रतिक्रिया देखिएका छन्। केहीले यसलाई मनोरञ्जनको पाटोका रूपमा लिएका छन् भने केहीले कलाकारले सार्वजनिक मञ्चमा जिम्मेवार भाषा प्रयोग गर्नुपर्ने धारणा राखेका छन्।
प्रतिक्रिया