काठमाडौं । टोखा नगरपालिका वडा नं. २ का पूर्व वडाध्यक्ष दीपक राज जोशीका पिता, टोखाका शैक्षिक धरोहर, पहिलो प्रधानाध्यापक, पूर्व प्रधानपञ्च तथा ज्योतिष शास्त्रका ज्ञाता देवज्ञ श्री केशव राज जोशीको निधनप्रति टोखा नगरपालिकाले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।
नगरप्रमुख प्रकाश अधिकारी र उपप्रमुख मुरारी तामाङको उपस्थितिमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा वर्तमान तथा पूर्व जनप्रतिनिधि, स्थानीय संघ–संस्था तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले दिवंगत जोशीप्रति श्रद्धासुमन अर्पण गरेका थिए।
श्रद्धाञ्जली सभामा नगरप्रमुख अधिकारी र उपप्रमुख तामाङले दिवंगत जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाई सम्मान व्यक्त गर्नुभएको थियो। उहाँहरूले शिक्षा, समाजसेवा र स्थानीय विकासमा दिवंगत जोशीले पुर्याउनुभएको योगदानको स्मरण गर्दै उहाँको निधनले टोखा नगरपालिकाले एक अनुभवी अभिभावक गुमाएको बताउनुभयो।
कार्यक्रममा वक्ताहरूले जोशीले टोखाको शैक्षिक विकास, सामाजिक चेतना र स्थानीय शासन प्रणालीमा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै उहाँको योगदान सधैं स्मरणीय रहने उल्लेख गरे।
टोखा नगरपालिका परिवारले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।

प्रतिक्रिया