बुढानीलकण्ठ नगरपालिका–१ द्वारा डस्टबिन वितरण, कुहिने–नकुहिने फोहोर व्यवस्थापनमा जोड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ पुष २०८२, शुक्रबार १५:०९

काठमाडौं – बुढानीलकण्ठ नगरपालिका वडा नं. १ ले वडावासीलाई फोहोर व्यवस्थापनप्रति सचेत गराउने उद्देश्यसहित डस्टबिन वितरण गरेको छ। वडाध्यक्ष सुरेन्द्र लामाले वडाभित्र फोहोरलाई जथाभावी नफाल्ने, कुहिने र नकुहिने फोहोर छुट्याएर व्यवस्थापन गर्ने संस्कार विकास होस् भन्ने उद्देश्यले डस्टबिन वितरण गरिएको जानकारी दिनुभयो।

डस्टबिन वितरण कार्यक्रममा वडाध्यक्ष लामाले कुहिने फोहोरबाट कम्पोस्ट मल उत्पादन गर्न सकिने र नकुहिने फोहोरलाई छुट्टै संकलन गरी व्यवस्थापन गर्दा वातावरण स्वच्छ राख्न सहयोग पुग्ने बताउनुभयो। “फोहोर सही तरिकाले व्यवस्थापन गर्न सके वडाको सरसफाइ मात्र होइन, स्वास्थ्य र वातावरण संरक्षणमा पनि महत्वपूर्ण योगदान पुग्छ,” उहाँले भन्नुभयो।

वडाले यसअघि पनि सरसफाइ, वातावरण संरक्षण, खानेपानी, सडक तथा सामाजिक विकासका क्षेत्रमा निरन्तर काम गर्दै आएको उल्लेख गर्दै वडाध्यक्ष लामाले डस्टबिन वितरण पनि वडावासीको हितका लागि लिइएको एक महत्वपूर्ण पहल भएको बताउनुभयो। वडाले सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै वडाबासीको दैनन्दिन जीवन सहज बनाउने उद्देश्यका साथ यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको उहाँको भनाइ छ।

डस्टबिन वितरणसँगै वडाले फोहोर व्यवस्थापनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, कुहिने र नकुहिने फोहोर छुट्याएर संकलन गर्ने तथा स्वच्छ र हरियाली वडा निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ।

वडावासीहरूले वडाको यो पहलले सरसफाइप्रति चेतना बढ्ने र व्यवस्थित फोहोर व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

slot gacor