काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाको राजस्व व्यवस्थापन शाखाद्वारा आयोजना गरिएको ३ दिने राजस्व व्यवस्थापन सम्बन्धी क्षमता विकास कार्यक्रम २०८२ औपचारिक रूपमा शुभारम्भ भएको छ।
कार्यक्रमको उद्घाटन बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा उप–प्रमुख अनिता लामा तथा प्रमुख प्रशासकीय अधिकृत महेश पाठकको समेत उपस्थिति रहेको थियो।
उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख अधिकारीले नगरपालिकाको आन्तरिक आय सुदृढीकरणका लागि प्रभावकारी राजस्व व्यवस्थापन अत्यन्त आवश्यक रहेको बताए। उनले कर्मचारीहरूको सीप, ज्ञान र कार्यकुशलता अभिवृद्धि गर्न यस्ता क्षमता विकास कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।
कार्यक्रममार्फत राजस्व संकलन प्रणालीलाई थप व्यवस्थित बनाउने, व्यवस्थापनमा पारदर्शिता कायम गर्ने तथा कर्मचारीहरूलाई व्यावहारिक र नीतिगत ज्ञान प्रदान गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ। तीन दिनसम्म सञ्चालन हुने यस कार्यक्रममा राजस्व संकलन, कर प्रशासन, अभिलेख व्यवस्थापन र पारदर्शितासम्बन्धी विविध विषयमा छलफल तथा प्रशिक्षण प्रदान गरिनेछ।
नगरपालिकाले यस्ता कार्यक्रममार्फत सुशासन प्रवर्द्धन गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।
प्रतिक्रिया