कागेश्वरी मनोहरा नगरपालिकाको १३औँ नगर अधिवेशन सम्पन्न, बजेट संशोधन प्रक्रिया अघि बढाउने निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ पुष २०८२, शुक्रबार ०७:३२

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको १३औँ नगर अधिवेशन सोमबार सम्पन्न भएको छ। थलीस्थित नगरपालिकाको सभा हलमा सम्पन्न अधिवेशनले चालु आर्थिक वर्षको बजेट संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

अधिवेशनमा नगरप्रमुख उपेन्द्र कार्कीले प्रगति विवरणसहित बजेट संशोधनसम्बन्धी प्रस्ताव पेस गर्दै वर्तमान आर्थिक चुनौतीका कारण बजेटको आकार घटाउनुपर्ने अवस्था आएको बताए। यसअघि नगरसभाबाट ३ अर्ब १५ करोड १५ लाख रुपैयाँ बराबरको बजेट अनुमान गरिएको भए पनि हालको परिस्थितिलाई मूल्याङ्कन गर्दा करिब साँढे २ अर्ब रुपैयाँको बजेट उपयुक्त ठहर गरिएको उनको भनाइ छ।

नगरप्रमुख कार्कीका अनुसार पछिल्लो समय देखिएका आर्थिक कठिनाइ, संघीय तथा प्रदेश सरकारबाट अपेक्षित अनुदान समयमै प्राप्त नहुनु तथा भदौ २३–२४ मा भएको घटनाले केही विकास निर्माणका योजनामा प्रत्यक्ष असर पुगेको छ। यद्यपि, राजस्व वृद्धि गर्न सकिने सम्भावनायुक्त योजनाहरूलाई निरन्तर अघि बढाइने उनले स्पष्ट पारे।

नगरपालिकाले विगतका झन्डै २५ करोड रुपैयाँ बराबरका दायित्व भुक्तानी गरिसकेको जानकारी दिँदै नगरप्रमुख कार्कीले आन्तरिक स्रोत सुदृढ गर्दै लगिएको बताए। घरभाडा कर संकलन, व्यवसाय दर्ता, प्लटिङ तथा नक्सा पासलाई नगरपालिकाका प्रमुख आन्तरिक आम्दानीका स्रोतका रूपमा विकास गरिएको र ती क्षेत्रलाई थप व्यवस्थित बनाइने उनले उल्लेख गरे।

आर्थिक चुनौतीलाई मध्यनजर गर्दै नगरपालिकाले सबै क्षेत्रको बजेटमा २५ प्रतिशत कटौती गर्ने प्रस्ताव अघि सारेको छ। सोअनुसार वडास्तरमा विनियोजित बजेट, विभिन्न शाखामा छुट्याइएको रकम तथा नगरस्तरीय योजनाहरूमा समेत समान रूपमा २५ प्रतिशत कटौती गरिने योजना रहेको छ।

अधिवेशनमा नगर उपप्रमुख शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, वडाध्यक्षहरू तथा नगरसभा सदस्यहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

slot gacor