काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली समाजको मौलिक संस्कार, संस्कृति र परम्पराको संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नु आजको साझा दायित्व भएको बताएकी छन्।
नेपाल मगर सङ्घको प्रतिनिधिमण्डलसँग बालुवाटारमा भएको भेटघाटका क्रममा प्रधानमन्त्री कार्कीले विविध सांस्कृतिक पहिचान नै नेपालको अमूल्य सम्पदा भएको उल्लेख गर्दै त्यसको जगेर्नामा विशेष ध्यान दिन आग्रह गरिन्। आउँदो माघे सङ्क्रान्तिको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागिताका लागि निम्तो दिन नेपाल मगर सङ्घका अध्यक्ष ज्ञानेन्द्र पुनमगर नेतृत्वको टोली प्रधानमन्त्री निवास पुगेको थियो।
भेटका क्रममा प्रधानमन्त्री कार्कीले भनिन्, “राजनीति होस् या सांस्कृतिक फाँट, अब नेतृत्व युवाकै काँधमा सुम्पिनु आवश्यक छ। हाम्रो मौलिक संस्कृति र परम्परा राष्ट्रिय पहिचानका आधार हुन्। ती संस्कारलाई संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नु हाम्रो जिम्मेवारी हो।”
उनले बहुजातीय, बहुसांस्कृतिक नेपाली समाजको सौन्दर्य विविधतामै रहेको उल्लेख गर्दै सबै समुदायका सांस्कृतिक पर्व, चालचलन र परम्पराले राष्ट्रिय एकता सुदृढ बनाउने धारणा व्यक्त गरिन्।
प्रधानमन्त्रीसँगको भेटमा नेपाल मगर सङ्घका पदाधिकारीहरू, कलाकारहरू तथा जेन–जी अभियन्ताहरूको समेत सहभागिता रहेको थियो। प्रतिनिधिमण्डलले मगर समुदायको सांस्कृतिक पहिचान संरक्षण र प्रवर्द्धनमा राज्यको सहयोग अपेक्षित रहेको बताउँदै प्रधानमन्त्रीलाई कार्यक्रमको औपचारिक निम्तो दिएका थिए।
प्रतिक्रिया