ज्येष्ठ नागरिक भवन भुक्तानीमा अनियमितता : बागलुङका सीडीओ कुमान सिंह गुरुङसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ पुष २०८२, शुक्रबार ०७:०३

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कुमान सिंह गुरुङसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

पर्वतको कुस्मा नगरपालिका–७ खरेहामा निर्माणाधीन ज्येष्ठ नागरिक भवनको भुक्तानी प्रक्रियामा वदनियतपूर्ण साँठगाँठ गरी गैरकानूनी लाभ लिएको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो। हाल बागलुङका सीडीओ रहेका गुरुङ तत्कालीन समयमा कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थिए।

अख्तियारका अनुसार सो प्रकरणमा कुस्मा नगरपालिकाका तत्कालीन लेखा अधिकृत कृष्णप्रसाद शर्मा, तत्कालीन इन्जिनियर आशिष शाक्य, मल्ल कन्स्ट्रक्सन एण्ड सप्लायर्स, पर्वत तथा उक्त फर्मका प्रोप्राइटर लालबहादुर मल्ललाई पनि प्रतिवादी बनाइएको छ।

अख्तियारले सीडीओ गुरुङसँग १ करोड १३ लाख ४४ हजार २ सय १६ रुपैयाँ विगो माग दाबी गरेको छ। त्यस्तै, तत्कालीन लेखा अधिकृत शर्मासँग १७ लाख २ हजार ३ सय ४१ रुपैयाँ, इन्जिनियर शाक्यसँग ९६ लाख ४१ हजार ८ सय ७४ रुपैयाँ तथा मल्ल कन्स्ट्रक्सन एण्ड सप्लायर्स र प्रोप्राइटर लालबहादुर मल्लसँग १ करोड १३ लाख ४४ हजार २ सय १६ रुपैयाँ विगो माग गरिएको छ।

अख्तियारले निर्माण कार्यको वास्तविक प्रगति र मापदण्ड विपरीत भुक्तानी गरिएको निष्कर्षसहित दोषीमाथि बिगो बमोजिम कैद, जरिवाना र असुलउपरको माग दाबी गरेको जनाएको छ।

प्रतिक्रिया

slot gacor