काठमाडौं । आसन्न निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपालले निर्वाचन प्रहरी (म्यादी प्रहरी) भर्ना गर्ने भएको छ। निर्वाचन सुरक्षाका लागि अर्थ मन्त्रालयले सशस्त्र प्रहरीलाई ८० करोड ८४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
सशस्त्र प्रहरीले करिब १५ हजार निर्वाचन प्रहरी भर्ना गर्ने तयारी गरेको छ। प्राथमिकतामा अवकाशप्राप्त सुरक्षाकर्मीलाई भर्ना गरिने र आवश्यकता अनुसार अन्य व्यक्तिहरूलाई समावेश गरिने सशस्त्र प्रहरीको नीति रहेको छ।
सुरक्षा योजनाअनुसार हरेक मतदानस्थलमा सशस्त्र प्रहरी खटाइने व्यवस्था गरिएको छ। हाल करिब ३६ हजार मात्र जनशक्ति रहेकाले सबै मतदान केन्द्रमा पर्याप्त उपस्थिति सुनिश्चित गर्न निर्वाचन प्रहरी भर्ना गर्न लागिएको हो। सशस्त्र प्रहरीबाट परिचालित निर्वाचन प्रहरीलाई कसरी र कहाँ खटाउने भन्ने विषयमा शुक्रबार निर्णय हुने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिएका छन्।
सशस्त्र प्रहरीले दोस्रो पटक निर्वाचन प्रहरी भर्ना गर्न लागेको हो। यसअघि २०६४ सालको निर्वाचनमा पनि सशस्त्र प्रहरीले साविक म्यादी प्रहरी भर्ना गरेको थियो।
यता, नेपाल प्रहरीले १ लाख ३३ हजार म्यादी प्रहरी भर्ना गर्न बजेट प्राप्त गरेको छ। निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीले ७ अर्ब १३ करोड २५ लाख रुपैयाँ पाएको छ। ४० दिनका लागि भर्ना हुने यी निर्वाचन प्रहरीले प्रहरी जवान बराबरको तलब र रासन सुविधा पाउने व्यवस्था गरिएको छ।
निर्वाचनको शान्ति सुरक्षा सुनिश्चित गर्न दुवै सुरक्षा निकायले व्यापक तयारी थालेका छन्।
प्रतिक्रिया