काठमाडौँ । नक्कली सुकुम्बासीलाई विद्यालयको जग्गा दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि आयोग कास्कीका अध्यक्ष गंगाप्रसाद पोखरेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। पोखरा महानगरपालिका–२६ लेखनाथस्थित सामुदायिक अमरज्योती आधारभूत विद्यालयको ३ रोपनी ३ आना सार्वजनिक जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा दर्ता गराइएको ठहर गर्दै अख्तियारले विशेष अदालतमा अभियोगपत्र दायर गरेको हो।
अख्तियारका अनुसार राष्ट्रिय भूमि आयोग, जिल्ला समिति कास्कीका तत्कालीन अध्यक्ष गंगाप्रसाद पोखरेल, आयोगका सदस्य एवं प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी, सदस्यहरू आसबहादुर गुरुङ, उमाकुमारी थापा र सोमबहादुर नेपाली तथा नक्कली कागजातमार्फत जग्गा हत्याउने भीमबहादुर विकविरुद्ध जनही १ करोड ४० लाख २५ हजार रुपैयाँ बिगो कायम गरिएको छ। सबै प्रतिवादीविरुद्ध बिगो बराबर जरिवाना, कैद सजाय तथा बिगो असुलउपरको मागदाबी लिइएको अख्तियारले जनाएको छ।
अभियोगपत्र अनुसार अमरज्योती आधारभूत विद्यालयको भोगचलनमा रहेको सार्वजनिक जग्गा मालपोत कार्यालय र भूमि आयोगका पदाधिकारीको मिलेमतोमा नक्कली सुकुम्बासी देखाई व्यक्तिको नाममा दर्ता गरिएको पुष्टि भएको हो। अनुसन्धानबाट भीमबहादुर विक सुकुम्बासीको परिभाषाभित्र नपर्ने व्यक्ति हुँदाहुँदै पनि झुट्टा विवरणका आधारमा सुकुम्बासी बनाइएको खुलेको अख्तियारको दाबी छ।
अख्तियारका अनुसार विककी श्रीमती सुकमाया कामीका नाममा यसअघि नै सुकुम्बासीको हैसियतमा जग्गा उपलब्ध गराइएको तथ्य हुँदाहुँदै, पुनः मिलेमतो गरी आयोमा निवेदन दिन लगाएर विद्यालयको जग्गा हडपिएको हो। उक्त जग्गा ५ चैत २०८० मा मालपोत कार्यालय कास्कीले फर्जी प्रक्रिया पूरा गरी विकको नाममा दर्ता गरिदिएको पाइएको छ।
यस प्रकरणमा मुछिएका मालपोत प्रमुख रामचन्द्र अधिकारी यसअघि पनि चर्चित ‘लिचीबारी जग्गा प्रकरण’मा जोडिएका व्यक्ति हुन्। साथै, भूमि आयोग कास्कीको अध्यक्ष नियुक्तिमा लेनदेन भएको भन्दै तत्कालीन मन्त्री र विचौलियाबीचको अडियोसमेत सार्वजनिक भइसकेको थियो।
अख्तियारले सार्वजनिक सम्पत्तिको संरक्षणमा गम्भीर लापरबाही र संगठित भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै संलग्न सबैलाई कडा कारबाहीको माग गरेको छ।
प्रतिक्रिया