कांग्रेसभित्र विशेष महाधिवेशनको बहस चर्कियो, गगन–देउवा आमनेसामने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ पुष २०८२, बिहीबार ०६:३९

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर नेतृत्व तहमा मतभेद तीव्र बन्दै गएको छ। मेलमिलाप दिवसको अवसर पारेर १६ पुस २०८२ मा महामन्त्री गगनकुमार थापाले पुस मसान्तभित्रै विशेष महाधिवेशन आह्वान गर्ने गरी पार्टी अघि बढेको घोषणा गरेपछि कांग्रेसको आन्तरिक राजनीति तरंगित भएको हो।

महामन्त्री थापाले “राष्ट्रप्रतिको दायित्व निर्वाह गर्न सक्ने कांग्रेस बनाउनु आजको प्रत्येक कांग्रेस कार्यकर्ताको युगीन जिम्मेवारी हो” भन्दै विशेष महाधिवेशन अपरिहार्य भएको दाबी गरेका छन्। उनका अनुसार फरक विचारलाई दबाएर होइन, साझा मञ्चमा बहस गरेर मात्रै पार्टीभित्र एकता सम्भव हुन्छ, र आजको सन्दर्भमा त्यो साझा मञ्च विशेष महाधिवेशन नै हो।
“पौष मसान्तभित्र विशेष अधिवेशन गर्नु विधानतः बाध्यकारी मात्र होइन, पार्टीभित्रको एकता र आत्मविश्वासका लागि पनि अनिवार्य भइसकेको छ,” थापाले स्पष्ट पारेका छन्।

तर पार्टी सभापति शेरबहादुर देउवा भने विशेष महाधिवेशनको विपक्षमा देखिएका छन्। मंगलबार केही सञ्चारकर्मीहरूसँगको भेटमा देउवाले विशेष महाधिवेशन गर्दा थप विवाद सिर्जना हुने तर्क गर्दै भने, “विशेष महाधिवेशनमा गयो भने विधि के, कसरी गर्ने भन्ने अर्को झगडा सुरु हुन्छ। त्यसकारण विशेष महाधिवेशन हुँदै हुँदैन। नियमित महाधिवेशन मिलेर गर्ने हो।”

सभापति देउवाको धारणा सार्वजनिक भएसँगै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले पनि गगन थापाको भनाइको प्रतिवाद गरेका छन्। उनका अनुसार समयको चापका कारण चुनावअघि कुनै पनि प्रकारको महाधिवेशन सम्भव छैन। “नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने बेलामा कांग्रेस विशेष महाधिवेशनको बाटोमा जाँदैन,” महतले स्पष्ट पारे।

यसअघि सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काको पहलमा मंसिर १५ गतेको केन्द्रीय समिति बैठकबाट १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिएको थियो। तर कार्यतालिका प्रभावित हुँदै जाँदा नियमित महाधिवेशनको सम्भावना कमजोर बनेको विश्लेषण भइरहेको छ। यही अवस्थालाई आधार बनाएर विशेष महाधिवेशन पक्षधरहरूले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि दबाब बढाएका हुन्।

पृष्ठभूमिमा, असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले कार्यवाहक सभापति खड्कालाई विशेष महाधिवेशनको मागसहित हस्ताक्षर बुझाइसकेका छन्। यही दबाबका कारण पुस २६ गते विशेष महाधिवेशन बोलाउने तयारी थालेको स्रोतहरूको दाबी छ।

यद्यपि सभापति देउवा निर्वाचनअघि महाधिवेशन गर्दा पार्टीभित्रको प्रतिस्पर्धाले चुनावी नतिजामा नकारात्मक असर पार्न सक्ने चिन्ता व्यक्त गर्दै आएका छन्। “निर्वाचन अगाडि महाधिवेशन गर्दा पार्टीभित्रको प्रतिस्पर्धाको असर पर्छ भनेर मैले भन्दै आएको छु,” देउवाले भनेका छन्, “गर्ने हो भनेर लाग्नुहुन्छ भने मैले रोक्ने कुरा हुँदैन।”

यसरी विशेष महाधिवेशनको विषय कांग्रेसभित्र संगठनात्मक सुधार र चुनावी रणनीतिबीचको द्वन्द्वका रूपमा सतहमा आएको छ। गगन थापाको आक्रामक पहल र देउवाको सावधानीपूर्ण दृष्टिकोणबीच पार्टी कुन बाटोमा अघि बढ्छ भन्ने प्रश्नले कांग्रेसको भविष्य राजनीतिलाई थप रोचक बनाएको छ।

प्रतिक्रिया