काठमाडौँ । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई थप सहज, सरल र विश्वासिलो बनाउने उद्देश्यका साथ माछापुच्छ्रे बैंक लिमिटेडले साइप्रसस्थित स्मार्ट पे (Smart Pay) सँग औपचारिक रेमिट्यान्स सम्झौता गरेको छ।
माछापुच्छ्रे बैंकले साइप्रस, ग्रीस, पोर्चुगलसहित सम्पूर्ण युरोपेली देशहरूमा रहेका नेपालीहरूलाई नेपालमा सुरक्षित र छरितो रूपमा रेमिट्यान्स पठाउने सुविधा उपलब्ध गराउने लक्ष्यका साथ स्मार्ट पेसँग सहकार्य गर्दै विधिवत रूपमा सेवा सुरु गरेको हो।
सम्झौतापत्रमा स्मार्ट पेको तर्फबाट प्रमुख सञ्चालन अधिकृत (COO) स्टेफनी इसाबेल हेराक्लिओस र माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका छन्।
सम्झौतापछि युरोपेली देशहरूमा रहेका नेपालीहरूले स्मार्ट पेका सबै प्रतिनिधि कार्यालय, मोबाइल एप तथा अनलाइन सेवामार्फत ‘एमबीएल रेमिट’ गरी नेपालमा रकम पठाउन सक्नेछन्। पठाइएको रकम नेपालभर रहेका माछापुच्छ्रे बैंकका १६५ शाखा, शाखारहित बैंकिङ सेवा, ११ एक्सटेन्सन काउन्टर तथा २० हजारभन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत सहज रूपमा भुक्तानी लिन सकिने बैंकले जनाएको छ।
यसका साथै स्मार्ट पे र एमबीएल रेमिटमार्फत पठाइएको रकम नेपालका जुनसुकै बैंकका खातामा तुरुन्तै जम्मा हुने व्यवस्था मिलाइएको छ, जसले सेवाग्राहीलाई थप सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ।
स्थापनाकालदेखि नै प्रविधिमा आधारित नवीन बैंकिङ सेवा उपलब्ध गराउँदै आएको माछापुच्छ्रे बैंक लिमिटेडले हाल देशभर १६५ शाखा, ८८ शाखारहित बैंकिङ सेवा, ११ एक्सटेन्सन काउन्टर र १९९ एटीएममार्फत १८ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
बैंकका अनुसार यस सहकार्यले युरोपमा रहेका नेपाली समुदायलाई सुरक्षित, छिटो र भरपर्दो रेमिट्यान्स सेवा उपलब्ध गराउनुका साथै औपचारिक माध्यमबाट रेमिट्यान्स भित्र्याउन महत्वपूर्ण योगदान पुग्नेछ।
प्रतिक्रिया