निर्मल माविको स्वर्ण जयन्तीः शिक्षा मात्र होइन, जीवन निर्माणको आधार बनेको विद्यालय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ पुष २०८२, सोमबार ०७:२८

काठमाडौँ । क–ख चिन्ने चरणदेखि आजसम्म ज्ञान मात्र होइन, जीवन जिउने आधार सिकाउने संस्थाका रूपमा स्थापित श्री निर्मल माध्यमिक विद्यालय, बस्तीपुर ले आफ्नो स्वर्ण जयन्ती भव्य रूपमा मनाएको छ। विद्यालयको ५० वर्षे यात्रामा सहभागी हुँदा अत्यन्त गर्व र भावनात्मक अनुभूति भएको भन्दै पूर्व विद्यार्थी तथा समाजसेवी अजय बर्तौलाले विद्यालयप्रति गहिरो सम्मान र कृतज्ञता व्यक्त गरेका छन्।

छाप्रोबाट सुरु भएको विद्यालयको यात्रा आज सुविधासम्पन्न भौतिक संरचना, कक्षा १ देखि +२ सम्मको अध्ययन व्यवस्था तथा निर्मल बहुमुखी क्याम्पससम्म विस्तार हुनु आफैंमा अविश्वसनीय उपलब्धि भएको उनले बताए। “यो विद्यालय केवल पढ्ने थलो मात्र होइन, हाम्रो पहिचान र जीवनका हरेक सफलताको आधार हो, हाम्रो आस्थाको मन्दिर हो,” बर्तौलाको भनाइ थियो।

स्वर्ण जयन्तीको अवसरमा आयोजित कार्यक्रममा विद्यालयको ५० वर्षे यात्रालाई सफल बनाउने पहिलो शिक्षक रामचन्द्र बर्तौलादेखि हालसम्मका सम्पूर्ण आदरणीय गुरुवर्ग, सबै समयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, समाजसेवी, दाताहरू, अभिभावक तथा विद्यार्थीहरूलाई हार्दिक बधाई तथा धन्यवाद व्यक्त गरिएको थियो।

कार्यक्रममा बर्तौलाले आफूलाई संस्कृत पढाउने प्रभा म्याम, क–ख सिकाउने विष्णु/श्याम सर, प्राथमिक तहका मनहरी सर, श्यामसुन्दर सर, माध्यमिक तहका ईश्वरचन्द्र रिजाल सर, राममणि बर्तौला सर, रोहिणी सर, देवराज सर तथा स्वर्गीय उद्धव बिडारी सर र पूर्व प्रधानाध्यापक प्रबोध बिडारी सरलगायत सम्पूर्ण शिक्षकहरूप्रति विशेष नमन व्यक्त गरे।

स्वर्ण जयन्तीका अवसरमा पुराना सहपाठीहरूसँगको भेटघाट र गुरुवर्गसँगको आत्मीय संवादले दिनलाई अझ स्मरणीय बनाएको सहभागीहरूले बताएका छन्। विद्यालयबाट सुरु भएको शैक्षिक यात्राले जीवनको दिशा तय गरेको स्मरण गर्दै सहभागीहरूले निर्मल माविको योगदानलाई ऐतिहासिक र प्रेरणादायी रहेको निष्कर्ष निकाले।

स्वर्ण जयन्तीले विद्यालयको गौरवशाली विगतलाई सम्झाउने मात्र होइन, भविष्यका पुस्ताका लागि अझ सशक्त शैक्षिक यात्राको आधार तय गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया