काठमाडौँ। गोकर्णेश्वर नगरपालिका वडा नं. ५ अन्तर्गत जोरपाटी नारायणटारस्थित नवज्योति टोलमा सामुदायिक भवन निर्माणको शिलान्यास सम्पन्न भएको छ।
शनिबार आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपक रिसाल र नगरप्रवक्ता तथा वडाध्यक्ष नारायणबहादुर सुवेदीले संयुक्त रूपमा सामुदायिक भवनको शिलान्यास गर्नुभएको हो।
नवज्योति टोल सुधार समितिका अध्यक्ष विवेक खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न टोल विकास समितिका अध्यक्ष तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा पृथ्वी टोल सुधार समितिका अध्यक्ष बासु श्रेष्ठ, प्रभुराम कोलोनीका अध्यक्ष भुपेन्द्र थपलिया, प्रगतिमार्ग डोलेगाल टोल सुधार समितिका अध्यक्ष केन घले, तराना महिला समूहकी अध्यक्ष वसन्ती लामा, मडीगाल टोल सुधार समितिका पूर्व अध्यक्ष केदार भट्टराई, समाजसेवी मुकुन्द महत लगायतको सहभागिता रहेको थियो।
गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोग, वडा नं. ५ को विशेष पहल तथा नवज्योति टोल उपभोक्ता समितिको अगुवाइमा निर्माण हुन लागेको उक्त सामुदायिक भवन स्थानीयवासीको श्रमदानसहित करिब १५ लाख रुपैयाँको लागतमा निर्माण हुने जनाइएको छ।
नगरप्रमुख दीपक रिसालले सामुदायिक भवनले स्थानीय तहमा सामाजिक, सांस्कृतिक तथा सामुदायिक गतिविधिहरू सञ्चालन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै नगरपालिकाले यस्ता विकास निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाइरहेको उल्लेख गर्नुभयो।
वडाध्यक्ष नारायणबहादुर सुवेदीले सामुदायिक सहकार्य र जनसहभागिताबाट निर्माण हुने भवनले टोलको एकता र पहिचानलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो।
स्थानीयवासीहरूले सामुदायिक भवन निर्माणले टोलस्तरका कार्यक्रम, बैठक, सामाजिक कार्य तथा आपतकालीन प्रयोजनमा ठूलो सहयोग पुग्ने भन्दै खुशी व्यक्त गरेका छन्।
प्रतिक्रिया