काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच आगामी निर्वाचनमा मिलेर जाने विषयमा ७ बुँदे सहमति भएको छ। मध्यरातमा भएको सहमतिअनुसार रास्वपाको नेतृत्व रवि लामिछानेले गर्ने र आगामी प्रतिनिधिसभा निर्वाचनमा बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार का रूपमा अघि सारिने भएको छ।
सहमतिपत्रमा दुवै पक्षले हस्ताक्षर गरेका छन्। सहमतिअनुसार निर्वाचनमा घण्टी चुनाव चिह्न बाट सहभागी हुने उल्लेख गरिएको छ। साथै, नवयुवाले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिँदै घाइते तथा सहिद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ।
सार्वजनिक विवरणअनुसार पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहनेछन् भने आसन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने सहमति भएको छ। सहमतिपछि स्थापित हुने राजनीतिक दलको नाम, चुनाव चिह्न र केन्द्रीय कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टीकै नाम र पहिचान मा रहने उल्लेख छ।
१. नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिँदै घाइते तथा सहिद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता।
२. समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्य प्राप्त गर्न गहिरा नीतिगत, संस्थागत तथा संरचनात्मक सुधारमार्फत आर्थिक–सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासलाई अघि बढाउँदै आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम–आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयन।
३. बृहत् एकतापछि स्थापित हुने राजनीतिक दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’, झण्डा साविककै निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो घण्टीको आकृति, चुनाव चिह्न ‘घण्टी’ र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने।
४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने।
५. पार्टीको संगठनात्मक संरचनालाई सक्षम र फराकिलो बनाउन युवा अभियन्ता तथा अनुभवी विज्ञहरूको समुचित समायोजन गर्दै जिम्मेवारी बाँडफाँड गर्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार बनाउने।
६. आसन्न आमनिर्वाचनलगत्तै सम्झौताअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीसम्बन्धी सबै दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने।
७. पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिह्न ‘घण्टी’ मा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आव्हान गर्ने।
रास्वपा र बालेनबीच भएको यो सहमतिको नेपाली राजनीतिमा दूरगामी प्रभाव पर्ने विश्लेषण हुन थालेको छ।

प्रतिक्रिया