नेपाल ट्रस्ट जग्गा लिज प्रकरण: पूर्वसचिव कर्की र सहसचिव कार्की धरौटीमा रिहा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० पुष २०८२, बिहीबार ०६:५७

काठमाडौँ । नेपाल ट्रस्टको नाममा दर्ता रहेको जग्गा लिजमा दिँदा अनियमितता भएको आरोपमा पक्राउ परेका ट्रस्टका तत्कालीन सचिव अर्जुनकुमार कर्की र सहसचिव लेखबहादुर कार्कीलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।

जिल्ला अदालत काठमाडौँले बुधबार अर्जुनकुमार कर्कीलाई ६ लाख रुपैयाँ र लेखबहादुर कार्कीलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा लेखबहादुर कार्कीलाई कात्तिक २१ गतेअर्जुनकुमार कर्कीलाई कात्तिक ३० गते पक्राउ गरेको थियो।

चितवनको भरतपुर महानगरपालिका–१५ निवासी लेखबहादुर कार्की हाल अवकाश प्राप्त कर्मचारी हुन्। अनुसन्धानका क्रममा काठमाडौँ महानगरपालिका–१, दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा थामसेर्कु ट्रेकिङ प्रालिलाई लिजमा दिँदा सञ्चालक समितिको निर्णयबिना तथा पर्याप्त आधार नखुलाई अर्को कित्ता थप गरी सम्झौता गरिएको पाइएको सीआईबीले जनाएको छ।

२०७४ जेठ १४ गते गरिएको उक्त सम्झौतामा तीन वर्षको निर्माण अवधिसहित बीओटी (Build–Operate–Transfer) मोडलअन्तर्गत ३० वर्षका लागि जग्गा लिजमा दिने निर्णय भएको देखिएको छ।

प्रतिक्रिया