गोकर्णेश्वर नगरपालिकाद्वारा खुल्ला TikTok प्रतियोगिता घोषणा, विजेतालाई ७५ हजारसम्म पुरस्कार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ पुष २०८२, बुधबार ०७:०६

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले नगरको पहिचान, कला र प्रवर्द्धनलाई प्रवाह गर्न खुल्ला TikTok प्रतियोगिता आयोजना गरेको छ। प्रतियोगितामा जो–कोही इच्छुक व्यक्ति सहभागी हुन सक्ने नगरपालिकाले जनाएको छ।

नगरपालिकाको जोरपाटी चोक नजिक वडा नं. ६ को कार्यालयसँगै निर्माण गरिएको नगरपालिकाको विभिन्न चिनारी झल्काउने 3D Art तथा ‘जोर + पाटी’ लेखिएको फल्टा समावेश गरी TikTok भिडियो बनाई पोस्ट गर्न सकिनेछ। उक्त प्रतियोगितामार्फत नगरको सांस्कृतिक र भौतिक पहिचानलाई डिजिटल माध्यमबाट व्यापक प्रचार–प्रसार गर्ने लक्ष्य लिइएको नगरपालिकाको भनाइ छ।

प्रतियोगिताका विजेतालाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। जसअनुसार

  • प्रथम पुरस्कार: ७५ हजार रुपैयाँ

  • द्वितीय पुरस्कार: ४० हजार रुपैयाँ

  • तृतीय पुरस्कार: २५ हजार रुपैयाँ

  • चौथो पुरस्कार: १५ हजार रुपैयाँ

  • पाँचौँ पुरस्कार: १० हजार रुपैयाँ

  • छैटौँ पुरस्कार: ५ हजार रुपैयाँ प्रदान गरिनेछ।

प्रतियोगितामा सहभागी हुन इच्छुकले मिति २०८२ पौष १० गतेदेखि पौष ३० गतेभित्र TikTok भिडियो पोस्ट गर्नुपर्नेछ। अन्तिम मितिपछि २० दिन अर्थात् माघ २० गते Likes र Views को आधारमा विजेता घोषणा गरिनेछ

प्रतियोगिताका शर्तअनुसार भिडियोमा सो स्थानको 3D Art र दुईवटा फल्टा सहितको दृश्य अनिवार्य देखिनुपर्ने, TikTok Video Boost गर्न नपाइने, विवरणमा #Gokarneshwor ह्यासट्याग प्रयोग गरी स्थानको वर्णन लेख्नुपर्ने उल्लेख गरिएको छ। साथै @dipakrisalofficial नामक TikTok ID फलो गरी पोस्ट गरिएको भिडियोको लिंक Dipak Risal Official TikTok ID तथा WhatsApp नम्बर 9823278330 मा पठाउनुपर्नेछ।

यस अवसरमा नगर प्रमुख दीपककुमार रिसालले सामाजिक सञ्जाललाई सिर्जनात्मक र सकारात्मक रूपमा प्रयोग गर्दै नगरको पहिचान प्रवर्द्धन गर्न प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। उहाँले भन्नुभयो,
“आजको डिजिटल युगमा TikTok जस्ता माध्यमले नगरको पहिचान विश्वभर चिनाउन ठूलो भूमिका खेल्न सक्छ। युवाको सिर्जनशीलता र प्रविधिको प्रयोगमार्फत गोकर्णेश्वर नगरपालिकालाई चिनाउने उद्देश्यले यो खुल्ला प्रतियोगिता ल्याइएको हो।”

नगर प्रमुख रिसालले युवाहरूलाई सकारात्मक सन्देश फैलाउने र नगरको सुन्दरता उजागर गर्ने खालका भिडियो निर्माण गर्न आग्रह गर्दै प्रतियोगितामा उत्साहपूर्वक सहभागिता जनाउन आह्वान गर्नुभयो।

प्रतिक्रिया