दलमार्फत निर्वाचन सन्देश प्रवाहमा सरकार सक्रिय : मन्त्री सिन्हा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ पुष २०८२, बुधबार ०६:१३

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले राजनीतिक दलहरूको सञ्जाल तल्लो तहसम्म सक्रिय रहेकाले उनीहरूमार्फत निर्वाचनसम्बन्धी सन्देश प्रवाह गर्न सरकार सक्रिय भएको बताएका छन्।

मंगलबार नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयको अनुगमनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री सिन्हाले निर्वाचनको वातावरण अझ सुदृढ बनाउन सरकारले राजनीतिक दलहरूलाई निर्वाचनको सन्देश प्रभावकारी रूपमा तल्लो तहसम्म पुर्‍याउन आग्रह गरिएको बताए।

उनका अनुसार दलहरूसँग प्रत्यक्ष संवाद गरी उनीहरूको जिज्ञासा र सुझाव संकलन गरेर सरकारसमक्ष पुर्‍याउने उद्देश्यले छलफल भइरहेको छ।

भदौ २३ र २४ का घटनाको सन्दर्भमा मन्त्री सिन्हाले ती घटनाका पछाडि विभिन्न आयाम रहेको उल्लेख गर्दै सबै वर्गको आवाज समेटिँदा आन्दोलन बहुआयामिक बनेको बताए।
उनले भने, “जेनजी समूहसँग भइरहेका छलफलमा विभिन्न माग आउनु स्वाभाविक हो।”

मन्त्री सिन्हाले सरकारले राजनीतिक दलहरूसँग निरन्तर संवाद गर्दै निर्वाचनको अनुकूल वातावरण निर्माण गर्न सक्रिय रूपमा काम गरिरहेको पनि स्पष्ट पारे।

प्रतिक्रिया