बुढानीलकण्ठ, काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका र सहकर्मी समाजको सहकार्यमा बाँके जिल्लाको कोहलपुरमा सञ्चालन गरिएको FEST Foundation Training को समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ।
डिसेम्बर ७ देखि १८ सम्म बाँकेको कोहलपुरमा सञ्चालन भएको उक्त तालिमको औपचारिक समापन कार्यक्रम पौष ७ गते बुढानीलकण्ठ नगरपालिका–हात्तीगौडा, काठमाडौँस्थित कार्यपालिका बैठक कक्षमा आयोजना गरिएको थियो।
समापन समारोहमा तालिम सफलतापूर्वक पूरा गर्ने २४ जना सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, उप–प्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, नगर प्रवक्ता नवराज भट्टराईलगायत नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख मिठाराम अधिकारीले सीपमूलक तथा क्षमता विकाससम्बन्धी तालिमले युवालाई आत्मनिर्भर, सक्षम र रोजगारीमुखी बनाउने महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले बुढानीलकण्ठ नगरपालिका युवाको सीप विकास, रोजगारी सिर्जना र उद्यमशीलता प्रवर्द्धनलाई प्राथमिकताका साथ अघि बढाइरहेको उल्लेख गर्दै यस्ता तालिमले युवालाई आफ्नै देशमै अवसर खोज्न प्रेरित गर्ने धारणा राख्नुभयो।
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले तालिमबाट आर्जन गरिएको ज्ञान र सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो। स्थानीय तह र सामाजिक संस्थाबीचको सहकार्यबाट मात्र प्रभावकारी र दिगो नतिजा हासिल गर्न सकिने उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि यस्ता सीपमूलक तथा क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।
कार्यक्रमको अन्त्यमा आयोजक बुढानीलकण्ठ नगरपालिकाले तालिम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबै पक्षप्रति धन्यवाद ज्ञापन गर्दै सहभागीहरूलाई सिकेको सीप प्रयोग गरी व्यक्तिगत उन्नतिसँगै समाज र राष्ट्र निर्माणमा सक्रिय योगदान पुर्याउन आग्रह गरेको थियो।
प्रतिक्रिया