जेनजी घटनाबारे ओली र लेखकलाई बयानका लागि बोलाउने तयारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ पुष २०८२, मंगलवार ०६:२८

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे छानबिन गर्न गठित आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाउने तयारी गरेको छ।

आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्माका अनुसार केही सुरक्षा अधिकारी र निजामती कर्मचारीको बयान सकिएपछि ओली र लेखकलाई पत्र पठाइनेछ। पत्रमा कम्तीमा एक साताको समय दिने तयारी गरिएको छ।

हाल आयोगले काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविराज रिजालको बयान लिइरहेको छ भने आइजिपी तथा तत्कालीन एआईजी दानबहादुर कार्कीको बयानको केही अंश बाँकी छ। यी प्रक्रिया सकेपछि पत्र पठाइने आयोगले जनाएको छ।

रमेश लेखकले पूर्वसूचना दिइएमा जुनसुकै दिन आयोगमा उपस्थित भएर बयान दिन तयार रहेको बताइसकेका छन्।

पूर्वप्रधानमन्त्री ओलीको बयानबारे आयोगभित्र नियमित छलफल भइरहेको छ। आयोगले म्याद तामेलीको प्रक्रिया, बयानमा नआएमा अपनाइने विकल्प र कानुनी उपायबारे तयारी गरिरहेको छ। यसका लागि ओलीको निवासमा पत्र बुझाउने, भित्तामा टाँस गर्ने वा सञ्चारमाध्यममार्फत सूचना प्रकाशन गर्ने विकल्पमा छलफल भइरहेको जनाइएको छ।

यसअघि ओलीले हिमालय टेलिभिजनसँगको अन्तर्वार्तामा बयान दिन नजाने अवस्था आए गिरफ्तार हुन तयार रहेको प्रतिक्रिया दिएका थिए।

आयोगले यसअघि बानेश्वरस्थित संसद भवनमा गोली चलाउने सुरक्षाकर्मी, कमाण्डर, बल प्रयोगको लिखित आदेश दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी र गृह सचिवसँग समेत बयान लिइसकेको छ।

आयोगले संकलित तथ्यका आधारमा प्रधानमन्त्री र गृहमन्त्रीलाई सोधिने प्रश्नहरूको खाका तयार गरिरहेको जनाएको छ।

प्रतिक्रिया