अस्तित्वमै नभएको विद्यालयको नाममा भ्रष्टाचार, चार जना दोषी ठहर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ पुष २०८२, मंगलवार ०६:२४

काठमाडौँ । विशेष अदालतले डोल्पा जिल्लामा अस्तित्वमै नभएको विद्यालयको भवन निर्माणका नाममा झुट्टा तथा नक्कली कागजात तयार गरी भ्रष्टाचार गरेको अभियोगमा चार जनालाई दोषी ठहर गरेको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यद्वय डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले तत्कालीन जिल्ला प्राविधिक कार्यालय डोल्पाका प्रमुख रविचन्द्र पञ्जीयार, लेखापाल मनिराम कुर्मी, उपभोक्ता समिति अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगीता बुढालाई दोषी ठहर गरेको हो।

अदालतले उनीहरूलाई जनही १ लाख ९० हजार रुपैयाँ जरिवाना र १ वर्ष ६ महिना कैद सजाय सुनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको साबिक दुनै गाविस–२ र ३ मा दुर्गा प्राथमिक विद्यालय पिप्लाको भवन निर्माण भएको भनी झुट्टा कागजात तयार गरी शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट ७ लाख ६० हजार रुपैयाँ भुक्तानी लिएको भन्दै २०८२ असार १८ गते मुद्दा दायर गरेको थियो।

अदालतले उक्त वडामा दुर्गा प्राथमिक विद्यालय नै नभएको र नक्कली कागजातमार्फत मिलेमतोमा रकम हिनामिना भएको ठहर गरेको छ। फैसलाको पूर्ण पाठ आउन बाँकी रहेको अदालतले जनाएको छ।

प्रतिक्रिया