काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आफूहरू सबैतिरबाट आलोचना खेप्ने अचानो नभएको स्पष्ट पारेकी छन्। सोमबार आयोजित सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै उनले अन्तरिम सरकारमाथि जेनजी (Gen Z) र राजनीतिक दल दुवैतर्फबाट प्रहार भइरहेको बताइन्।
प्रधानमन्त्री कार्कीका अनुसार विगतमा भएका गल्ती र कमजोरीबाट सिर्जित आवेगकै कारण भदौ २३ र २४ गतेका घटना घटेका हुन्, जसको असर हाल अन्तरिम सरकारले भोगिरहेको छ। उनले मुलुकका लागि आएका सबै प्रकारका आक्षेप सहन सरकार तयार रहेको पनि बताइन्।
उनले राजनीतिक दलहरू देशका सर्वेसर्वा नभई जनता नै सर्वोच्च शक्ति भएको उल्लेख गर्दै दलहरू जनताको सेवाका लागि स्थापित संस्था भएको बताइन्।
प्रधानमन्त्री कार्कीले भनिन्, “यो देशको सर्वेसर्वा भनेको जनता जनार्दन हो। कुनै पनि राजनीतिक दलभित्र भागबण्डा नमिलेको वा आपसी मनमुटाव भएको कारण त्यसको नकारात्मक असर जनतालाई दिनु हुँदैन।”
भदौ २३ र २४ गते भएका हत्या र हिंसात्मक घटनाले जनतामा गहिरो प्रभाव पारेको उल्लेख गर्दै उनले जेनजी र युवापुस्ताले के खोजिरहेको छ भन्ने विषयमा गम्भीर आत्ममन्थन आवश्यक रहेको बताइन्।
“यदि जनताले परिवर्तन खोजिरहेका छन् भने राजनीतिक दलहरूले पनि आफूलाई सच्च्याउनुपर्छ,” उनले भनिन्।
प्रधानमन्त्री कार्कीले अन्तरिम सरकार जेनजीको रगतमा ऐस–आराम गर्न नआएको स्पष्ट पार्दै विगतमा केही राजनीतिक दलहरूले मस्ती गरे पनि आफूहरूले कुनै सुविधा नलिएको दाबी गरिन्।
उनले सबै राजनीतिक दलहरू एकताबद्ध भएर शान्ति चाहने हो भने कुनै पनि व्यक्तिले अराजकता मच्चाउन नसक्ने जिकिर गर्दै भनिन्, “सबै दल एकजुट भए भने कुनै ‘माइकलाल’ ले देश बिगार्न सक्दैन।”
प्रतिक्रिया