काठमाडौं। नेपाल राष्ट्र बैंकले सहकारी बैंकहरूका लागि नयाँ एकीकृत निर्देशन जारी गर्दै न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ कायम गर्नुपर्ने व्यवस्था लागू गरेको छ। यस निर्देशनले सहकारी बैंकले कायम गर्नुपर्ने चुक्ता पुँजी, न्यूनतम पुँजीकोष, कर्जा वर्गीकरण, कर्जा सीमा र जोखिम व्यवस्थापनका आधारभूत मापदण्ड तोकेको छ।
निर्देशनअनुसार अब सहकारी बैंकले कुल जोखिम भारित सम्पत्तिको आधारमा प्राथमिक पुँजी ४ प्रतिशत र कुल पुँजीकोष ८ प्रतिशत कायम गर्नुपर्नेछ। पुँजीकोष नपु¥याएमा राष्ट्र बैंकले वाणिज्य बैंकसरह कारबाही गर्न सक्ने व्यवस्था गरिएको छ। साथै सहकारी बैंकले पनि वाणिज्य बैंकसरह कर्जा नोक्सानी व्यवस्थापन अनिवार्य रूपमा गर्नुपर्नेछ।
निर्देशनअनुसार कर्जालाई समयसीमाअनुसार वर्गीकरण गर्नुपर्नेछ:
३ महिनासम्म भाखा ननाघेका कर्जा – असल
३–६ महिनासम्म भाखा नाघेका – कमसल
६ महिनादेखि १ वर्ष – शंकास्पद
१ वर्षभन्दा बढी – खराब
साथै, कर्जा नोक्सानी व्यवस्थापन १ प्रतिशतदेखि १०० प्रतिशतसम्म लागू गर्नुपर्नेछ।
सदस्य संस्थाबाट संकलन गरिएको बचत र सापटी कोषको कम्तीमा २ प्रतिशत अनिवार्य मौज्दात राख्नुपर्नेछ। कुल निक्षेप दायित्वको न्यूनतम २० प्रतिशत बराबर तरल सम्पत्ति कायम गर्नुपर्ने व्यवस्था गरिएको छ।
अब सहकारी बैंकले सदस्य सहकारी संस्थालाई दिने कर्जा सीमा तोकेको छ। सदस्यले आफ्ना ऋणीको धितो प्रयोग गरी लिने कर्जा, सो सदस्यले लिएको कर्जाभन्दा बढी नहुनेछ। कुल सम्पत्तिको १५ प्रतिशत वा अघिल्लो त्रैमासको कुल साधारण सेयरको २० प्रतिशतभन्दा बढी कर्जा नदिने व्यवस्था गरिएको छ। तोकिएको सीमा नपु¥याएमा असार मसान्तसम्म समायोजन गर्नुपर्नेछ।
सहकारी बैंकले सदस्यको बचत सुरक्षणमा अधिकतम ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्नेछ। रियलस्टेट क्षेत्रमा कुल कर्जाको अधिकतम १० प्रतिशत र रियलस्टेट तथा आवासीय घर कर्जामा मिलाएर कुल २५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरिएको छ। परियोजना सुरक्षणमा ८० प्रतिशतसम्म र बचत सुरक्षणमा ९० प्रतिशतसम्म ऋण दिन सकिने व्यवस्था गरिएको छ।
नकारात्मक पुँजीकोष भएका सहकारी बैंकहरूलाई कुल पुँजीकोष ८ प्रतिशत कायम गर्न ३ वर्षको समयसीमा दिइएको छ। पुँजी केवल साधारण सेयरबाट गठन हुनुपर्नेछ।
सूचना: पूँजीकोषमा प्राथमिक पूँजी र पूरक पूँजीको योग समावेश हुन्छ। प्राथमिक पूँजीमा चुक्ता पुँजी, प्रस्तावित बोनस सेयर, जगेडा कोष, सञ्चित नाफा/नोक्सान र स्वतन्त्र कोष समावेश गर्न सकिन्छ।
सहकारी बैंकहरूले तोकिएको समयसीमाभित्र पुँजी सुधारका योजना कार्यान्वयन गर्दै पुँजीकोष सुदृढ बनाउने बताएका छन्।
प्रतिक्रिया