काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले योग र ध्यानलाई समाजमा व्यापक रूपमा फैलाउन सकिए भ्रष्टाचार हटाउन सकिने धारणा व्यक्त गर्नुभएको छ।
विश्व ध्यान दिवसको अवसरमा आज टुँडिखेलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पुनले अहिलेको आवश्यकता मनलाई शुद्ध बनाउनु रहेको बताउनुभयो। मन शुद्ध नभए लोभ, लालसा र घमण्ड जन्मिने र त्यसकै परिणामस्वरूप समाजमा भ्रष्टाचार मौलाउने उहाँको भनाइ थियो। “भ्रष्टाचार हटाउने कुनै औषधि हुँदैन, तर योग र ध्यानले मन शुद्ध बनाउँछ। मन शुद्ध भए भ्रष्टाचार आफैं घट्छ,” मन्त्री पुनले स्पष्ट पार्नुभयो।
कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले योग, आयुर्वेद र ध्यानलाई परम्परागत चिकित्सा पद्धतिका रूपमा सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको जानकारी दिनुभयो। उहाँले यस क्षेत्रमा कार्यरत सबै सङ्घ–संस्थालाई सहकार्यमा आउन आग्रह गर्दै योग र ध्यानलाई जनजीवनसँग जोड्न आवश्यक रहेको बताउनुभयो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा गठन गरिएको मूल समारोह समितिको आयोजनामा सम्पन्न कार्यक्रममा योग प्रशिक्षकहरूले प्रवचनका साथै योग तथा ध्यान अभ्याससमेत गराउनुभएको थियो।
उल्लेखनीय छ, संयुक्त राष्ट्रसङ्घले गएको वर्ष डिसेम्बर ७ मा हरेक वर्ष २१ डिसेम्बरलाई ‘विश्व ध्यान दिवस’का रूपमा मनाउने घोषणा गरेको हो। यस वर्ष ‘विश्व शान्ति र सद्भावनाका लागि ध्यान’ भन्ने नाराका साथ विश्व ध्यान दिवस मनाइँदै छ।
प्रतिक्रिया