कागेश्वरी मनोहरामा ‘मेयरसँग उद्यमशीलता’ कार्यक्रम प्रभावकारी, सिताके च्याउ खेती विस्तार हुँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ पुष २०८२, सोमबार ०६:०१

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले नगरलाई सिताके च्याउ खेतीको ‘हब’ बनाउने उद्देश्यसहित सञ्चालन गरेको मेयरसँग उद्यमशीलता कार्यक्रम प्रभावकारी बन्दै गएको छ। नगर प्रमुख उपेन्द्र कार्कीको पहलमा गत आर्थिक वर्ष २०८१/०८२ बाट सुरु भएको उक्त कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाएको छ।

नगरप्रमुख कार्कीले नगर क्षेत्रलाई सिताके च्याउ खेतीको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित चासो देखाएपछि सुरु गरिएको कार्यक्रम अन्तर्गत गत वर्ष ५ वटा कृषि सहकारीमार्फत सिताके च्याउ खेती सञ्चालन गरिएको थियो। यस वर्ष भने कार्यक्रम विस्तार गर्दै २० वटा सहकारी तथा कृषि फर्ममा सिताके च्याउ खेती सञ्चालन गर्ने नगरपालिकाको लक्ष्य रहेको छ।

यसै सन्दर्भमा नगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै मेयरसँग उद्यमशीलता कार्यक्रम अन्तर्गत सहकारी तथा इच्छुक कृषि फर्महरूबाट प्रस्ताव आह्वान गरेको छ। सूचनामा कागेश्वरी मनोहरा नगरपालिका सहकारी तथा उद्यम विकास शाखाको समन्वयमा, बाह्रौँ नगरसभाबाट स्वीकृत नीति, कार्यक्रम तथा बजेटअनुसार कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ। इच्छुक सहकारी संस्था तथा कृषि फर्महरूले आवश्यक कागजातसहित १५ दिनभित्र प्रस्ताव पेश गर्न आग्रह गरिएको छ।

सहकारी तथा उद्यम विकास शाखा प्रमुख विश्वास ज्ञावालीका अनुसार आवेदनका साथ सञ्चालक समितिको निर्णय, आर्थिक प्रस्ताव तथा कृषि फर्म दर्ता प्रमाणपत्र पेश गर्नुपर्नेछ। कृषि अन्तर्गत सिताके च्याउ खेतीलाई नगदे बालीका रूपमा उद्यमशीलता क्षेत्रमा राखिएको जनाउँदै उनले कृषि सहकारी, बहुउद्देश्यीय सहकारी, अन्य सहकारी तथा इच्छुक कृषि फर्महरूले कार्यक्रममा सहभागिताका लागि आवेदन दिन सक्ने जानकारी दिए।

नगरपालिकाले यस वर्ष छनोटमा पर्ने २० वटा सहकारी तथा कृषि फर्मलाई सिताके च्याउ खेतीका लागि ५० प्रतिशत अनुदान उपलब्ध गराउने जनाएको छ।

उल्लेखनीय छ, गत आर्थिक वर्ष २०८१/०८२ मा मेयरसँग उद्यमशीलता कार्यक्रम अन्तर्गत नव कान्तिभैरव बहुउद्देश्यीय सहकारी, गणनायक कृषि सहकारी, करेसाबारी कृषि सहकारी, मिलीजुली दिदीबहिनी कृषि सहकारी तथा सिंहदेवी कृषि सहकारी संस्थाले नगरपालिकाको ५० प्रतिशत अनुदानमा सिताके च्याउ खेती सुरु गरेका थिए। हाल ती सहकारीहरूले व्यावसायिक रूपमा सिताके च्याउ उत्पादन सुरु गरिसकेका छन्।

कार्यक्रमले स्थानीय स्तरमा रोजगारी सिर्जना, आयआर्जन वृद्धि तथा नगरपालिकालाई व्यावसायिक च्याउ खेतीको केन्द्रका रूपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया