काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हाल देशमा वैचारिक आधार नभएका तत्व हावी भएको भन्दै गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ।
शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित एकता सन्देशसभा मा बोल्दै प्रचण्डले सामाजिक सञ्जालमा स्टन्टबाजी गर्ने तत्वले समाजमा भ्रम फैलाउने काम गरिरहेको बताए। “हामीले नेतृत्व गरेको नेकपा स्टन्टबाजमा आधारित नभएर विचारमा आधारित भएर अघि बढ्ने विश्वास राख्छ,” उहाँले भन्नुभयो।
प्रचण्डले भदौ २४ गतेको विध्वंश घटनालाई स्मरण गर्दै त्यो समयमा नेपाल केही समय राज्यविहीन भएको र राष्ट्रिय स्वाधिनता, आत्मनिर्णयको अधिकार र नेपाली जनताको सार्वभौमसत्ता नै खतरामा परेको बताए। “देश थप दुर्घटनातर्फ नजाओस र संविधान दुर्घटनामा नजाओस भनेर यो सरकार बनाउने सहजीकरण गरिएको थियो,” उहाँले थप्नुभयो।
सभामा प्रचण्डले राष्ट्रिय एकता अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै विगतभन्दा फरक ढंगले अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो। उनले नेपालको इतिहासमा १६ घटकलाई एकताबद्ध गरेको पनि जानकारी दिए।
उहाँले प्रतिनिधिसभाको २१ फागुनमा तोकिएको निर्वाचन स्थगित नगर्न चेतावनी दिँदै भन्नुभयो, “संसद् पुनःस्थापना होला कि चुनाव होला भन्ने बहस भइरहेको छ, तर संविधानलाई थप क्षति हुन नदिनको लागि निर्वाचन नै सहज बाटो हो। निर्वाचन बिथोल्ने र नेपाली जनताको अधिकारमा हस्तक्षेप गर्ने काम कसैले नगरोस्।”
प्रचण्डले संसद् पुनःस्थापना गरेर पुरानै सरकार बनाउन खोज्ने पक्षलाई सुझाव दिए र निर्वाचनलाई अबको सजिलो र लोकतान्त्रिक विकल्प भएको बताए। साथै कांग्रेस र एमालेलाई डबल स्ट्यान्डर्ड नराख्न आग्रह गर्दै, घोषित मितिमा निर्वाचन सफल पार्न योगदान गर्न सबै पार्टी र नागरिकसँग अपिल गर्नुभयो।
उहाँले अन्त्यमा चेतावनी दिनुभयो कि “जेनजी हाम्रो मात्र पेवा हो भन्ने भ्रम कसैले पनि नपालोस्।”
प्रतिक्रिया