काठमाडौँ । बूढानिलकण्ठ नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष आकाश धितालले वडा भित्र सञ्चालित सम्पूर्ण होटल, रेस्टुरेन्ट, चिया पसल, किराना तथा अन्य व्यापारिक प्रतिष्ठानका सञ्चालकहरूलाई विद्यालयको पोशाकमा रहेका विद्यार्थी तथा १८ वर्ष मुनिका बालबालिका, किशोर–किशोरी र युवायुवतीहरूलाई मदिरा, सुर्तीजन्य पदार्थ तथा जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने कुनै पनि वस्तु बिक्री–वितरण नगर्न विशेष अपिल गर्नुभएको छ।
वडा अध्यक्ष धितालले बालबालिकाको भविष्य सुरक्षित गर्नु सम्पूर्ण समाजको साझा जिम्मेवारी भएको उल्लेख गर्दै यस्ता पदार्थको प्रयोगले उनीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासमा गम्भीर नकारात्मक असर पार्ने बताउनुभयो। उहाँका अनुसार नेपाल सरकार तथा स्थानीय तहका विद्यमान कानुनले पनि १८ वर्ष मुनिका व्यक्तिलाई मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री गर्न पूर्ण रूपमा निषेध गरेको स्पष्ट व्यवस्था गरेको छ।
उहाँले सबै व्यवसायीहरूलाई कानुनको कडाइका साथ पालना गर्न आग्रह गर्दै वडा कार्यालय, नगर प्रहरी तथा सम्बन्धित निकायहरूको समन्वयमा निरन्तर अनुगमन गरिने जानकारी दिनुभयो। अनुगमनका क्रममा कानुन उल्लङ्घन गर्ने पाइएमा प्रचलित नियमअनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिनुभएको छ।
स्वस्थ समाज, अनुशासित पुस्ता र उज्ज्वल भविष्य निर्माणका लागि सबै सरोकारवालाको समझदारी र सहयोग अपरिहार्य रहेको भन्दै वडा अध्यक्ष धितालले सबैलाई जिम्मेवार बन्न आग्रह गर्नुभएको छ।
अन्त्यमा उहाँले सबैको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै “जय बूढानिलकण्ठ” को नारासहित अपिल समापन गर्नुभएको छ।
प्रतिक्रिया