टोखा नगरपालिकामा ‘श्रम डेस्क’ स्थापना : श्रमिकको हकहित संरक्षणतर्फ महत्वपूर्ण कदम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ पुष २०८२, शुक्रबार ०६:५०

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकामा श्रमिकहरूको हक, हित र अधिकारको संरक्षणका लागि ‘श्रम डेस्क’ स्थापना गरी सञ्चालनमा ल्याइएको छ। मङ्गलबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको श्रम डेस्कको नगर प्रमुख प्रकाश अधिकारीले शुभारम्भ गर्नुभयो।

कार्यक्रममा बोल्दै नगर प्रमुख अधिकारीले नगरभित्र रहेका श्रमिकहरूको समस्या समाधान, अधिकार संरक्षण तथा श्रमसम्बन्ध सुदृढ बनाउने उद्देश्यले टोखा नगरपालिकाले श्रम डेस्क सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२ बमोजिम श्रम डेस्क स्थापना गरिएको जानकारी दिनुभयो। उहाँले श्रमिकमैत्री नीति र कार्यक्रममार्फत स्थानीय सरकार श्रमिकको साथमा उभिएको सन्देश दिनु आजको आवश्यकता भएको बताउनुभयो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईका अनुसार श्रम डेस्कमार्फत श्रमिकको पञ्जीकरण गरी परिचयपत्र वितरण, श्रमिकका उजुरी तथा गुनासोको सुनुवाइ, श्रमिक र रोजगारदाताबीच असल श्रम सम्बन्ध स्थापना, रोजगारदातालाई जिम्मेवार बनाउँदै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने, साथै श्रम अनुगमन तथा निरीक्षण प्रणालीको विकास जस्ता कार्यहरू सञ्चालन गरिनेछ।

टोखा नगरपालिकाले नगरभित्र रहेका अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई श्रम डेस्कमा सम्पर्क गरी सूचीकृत हुन समेत आग्रह गरेको छ। यसले श्रमिकलाई राज्यको पहुँचमा ल्याउने, अधिकार सुनिश्चित गर्ने र सामाजिक सुरक्षाको दायरामा समेट्ने विश्वास लिइएको छ।

श्रमिक सङ्घ–संस्थाहरूले टोखा नगरपालिकाले श्रम डेस्क स्थापना गरेर श्रमिकको हकहितका लागि थालेको यो पहल अत्यन्तै प्रशंसनीय भएको प्रतिक्रिया दिएका छन्। उनीहरूका अनुसार स्थानीय तहबाट यस्तो संरचना स्थापना हुनु श्रमिकका लागि ठूलो उपलब्धि हो।

टोखामा श्रम डेस्क स्थापना गर्न तरंगिनी फाउण्डेशनसहित श्रमिकको हकहितका लागि क्रियाशील विभिन्न ट्रेड युनियनहरूको महत्वपूर्ण भूमिका रहेको जनाइएको छ। स्थानीय सरकार, श्रमिक सङ्गठन र सरोकारवालाबीचको सहकार्यले श्रम क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने विश्वास व्यक्त गरिएको छ।

टोखा नगरपालिकाको यो कदम श्रमिकमैत्री स्थानीय शासनको उदाहरणका रूपमा सार्वजनिक सरोकारको विषय बनेको छ।

प्रतिक्रिया

slot gacor