काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाले नगरलाई प्रविधिमैत्री बनाउने लक्ष्यसहित प्राविधिक कर्मचारीहरूलाई मेट्रिक घर नम्बर प्रणालीमा आधारित DMAPS (Digital Mapping System) सफ्टवेयर सञ्चालनसम्बन्धी तालिम प्रदान गरेको छ।
तालिम उद्घाटन गर्दै नगरप्रमुख उपेन्द्र कार्कीले मेट्रिक घर नम्बर प्रणालीलाई वैज्ञानिक, व्यवस्थित तथा डिजिटल माध्यमबाट कार्यान्वयन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए। उनले नगर क्षेत्रभित्र रहेका घर तथा भवनहरूको विवरणलाई डिजिटल नक्सासँग आबद्ध गरी व्यवस्थित अभिलेख तयार गर्न DMAPS सफ्टवेयर प्रभावकारी माध्यम हुने विश्वास व्यक्त गरे।
मेयर कार्कीका अनुसार DMAPS सफ्टवेयरमार्फत मेट्रिक घर नम्बर निर्धारण, भू–सूचना प्रणाली (GIS) मा आधारित विवरण प्रविष्टि, नक्सांकन तथा अभिलेख व्यवस्थापनलाई सहज र प्रभावकारी बनाइनेछ। “यस प्रणालीको प्रयोगले नगरपालिकाको सेवा प्रवाह थप छिटो, पारदर्शी र प्रविधिमैत्री बन्नेछ,” उनले भने।
तालिमका क्रममा सहभागी प्राविधिक कर्मचारीहरूलाई सफ्टवेयर प्रयोग विधि, घर नम्बर प्रविष्टि प्रक्रिया, तथ्यांक अद्यावधिक गर्ने तरिका, नक्सासँग विवरण जोड्ने अभ्यास तथा प्रतिवेदन तयार गर्ने विषयमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो।
नगरपालिकाका अनुसार मेट्रिक घर नम्बर प्रणाली कार्यान्वयन भएसँगै कर संकलन, आपतकालीन सेवा प्रवाह, शहरी योजना, नक्सा व्यवस्थापन तथा तथ्यांक अभिलेखीकरणमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ। तालिममा कागेश्वरी मनोहरा नगरपालिकामा कार्यरत प्राविधिक कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।
प्रतिक्रिया