कामाडौं। जेन–जी आन्दोलन दमनसम्बन्धी घटनाको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले अर्को सातादेखि राजनीतिक नेतृत्वसँग बयान लिन सुरु गर्ने भएको छ।
आयोगको कार्यकाल सकिन लागेका बेला आयोगका पदाधिकारीहरूले आज प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी म्याद थपका लागि आग्रह गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा आयोगको काम अझै बाँकी रहेकाले थप समय आवश्यक भएको जनाइएको छ।
सोही क्रममा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिने तयारी गरिएको जानकारी दिएका छन्। आयोगले यसअघि सुरक्षा निकायका प्रमुखहरूसँग आवश्यक बयान लिइसकेको छ।
अब आयोगले जेन–जी आन्दोलनका क्रममा भएका निर्णय, सुरक्षा परिचालन र राजनीतिक तहबाट भएका निर्देशनहरूबारे स्पष्टता ल्याउन विभिन्न राजनीतिक दलका नेताहरूसँग बयान लिन लागेको हो। आयोगको यो कदमले घटनाको सत्यतथ्य सार्वजनिक हुने र जिम्मेवारी निर्धारणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया