कुसोम र कागेश्वरी मनोहरा नगरपालिकाबीच नगर विकासका लागि समझदारी पत्रमा हस्ताक्षर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ पुष २०८२, बिहीबार ०६:१०

काठमाडौँ ।  काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (कुसोम) र कागेश्वरी मनोहरा नगरपालिकाबीच अनुसन्धान, सर्वेक्षण तथा तालिममार्फत नगर विकासमा योगदान पुर्‍याउने उद्देश्यसहित समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

सन् १९९३ मा स्थापना भएको अग्रणी व्यवस्थापन शिक्षण संस्था कुसोम र कागेश्वरी मनोहरा नगरपालिकाबीच बुधबार औपचारिक रूपमा सम्झौता सम्पन्न भएको हो। कुसोमका तर्फबाट डिन प्रो. डा. विजय केसी र कागेश्वरी मनोहरा नगरपालिकाका तर्फबाट नगरप्रमुख उपेन्द्र कार्कीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी पनि सम्झौताका हस्ताक्षरकर्ताका रूपमा रहेका छन्।

सम्झौता हस्ताक्षर कार्यक्रममा कुसोमका सहायक प्राध्यापक डा. लालबहादुर पुन र कागेश्वरी मनोहरा नगरपालिकाकी वरिष्ठ अधिकृत सङ्गीता घिमिरे साक्षीका रूपमा सहभागी थिए।

समझदारीअनुसार दुबै संस्थाले नगरपालिकाको प्राथमिकताअनुसार विभिन्न क्षेत्रहरूमा संयुक्त रूपमा अनुसन्धान तथा सर्वेक्षण गर्नेछन्। साथै युवा, महिला, लघु, साना तथा मझौला उद्यम (एमएसएमई) तथा अगुवा कृषकहरूका लागि उद्यमशीलता विकास, व्यवसाय प्रवर्द्धन र क्षमता अभिवृद्धिमा सहकार्य गरिनेछ।

यसैगरी स्थानीय व्यवसायी, किसान तथा उद्यमीहरूको सीप विकासका लागि तालिम सञ्चालन गर्ने, नगरपालिकासम्बन्धी नीति तथा कार्यक्रमहरूको समीक्षा, विश्लेषण र अनुसन्धान गर्ने तथा विद्यार्थीहरूलाई अनुसन्धान, सर्वेक्षण र फिल्डवर्कमा संलग्न गराउने विषयहरू पनि सम्झौतामा समावेश गरिएको छ।

सहकार्यको प्रभावकारी कार्यान्वयनका लागि दुबै पक्षले आ–आफ्ना प्रतिनिधि तोक्ने व्यवस्था गरिएको छ। सम्झौता तीन वर्षका लागि लागू हुने र आपसी सहमतिमा नवीकरण गर्न सकिने जनाइएको छ। कुनै पनि पक्षले छ महिनाअघि लिखित सूचना दिएर सम्झौता अन्त्य गर्न सक्ने व्यवस्था पनि गरिएको छ। सम्झौता समाप्त भए पनि सुरु भइसकेका कार्यक्रमहरू आपसी सहमतिअनुसार सम्पन्न गरिने उल्लेख गरिएको छ।

सम्झौता कार्यान्वयनका क्रममा कुनै विवाद उत्पन्न भएमा आपसी छलफलमार्फत समाधान खोजिने र असाधारण परिस्थितिमा दुवै पक्ष जिम्मेवार नहुने प्रावधानसमेत सम्झौतामा समेटिएको छ।

यो समझदारीले शैक्षिक संस्था र स्थानीय तहबीच सहकार्यको नयाँ आयाम थप्दै कागेश्वरी मनोहरा नगरपालिकाको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

प्रतिक्रिया

Leave a Reply