एमाले महाधिवेशन : ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ पुष २०८२, बुधबार ०६:५०

काठमाडौँ : नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएकामध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन्।

पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार विभिन्न क्लस्टरबाट ११ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन्।

उनका अनुसार लुम्बिनी प्रदेशबाट ४० वर्षमुनि उमेर समूहमा लिलामणि गौतम सर्वसम्मत निर्वाचित भएका छन्। सोही प्रदेशबाट महिला केन्द्रीय सदस्यमा गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तिदेवी ढकाल चयन भएका छन्।

युवा (४० वर्षमुनि) केन्द्रीय सदस्यमा नरेश रोकाया र सुशील कुमार थापा निर्वाचित भएका छन् भने मधेस प्रदेशबाट ४० वर्षमुनि उमेर समूहमा अमरकुमार यादव र रौनित साह सर्वसम्मत भएका छन्।

मुस्लिम महिला केन्द्रीय सदस्यमा खाजिदा खातुन सिद्धिकी निर्वाचित हुँदा पिछडिएको क्षेत्र महिलातर्फबाट वदमी क्वारी बुढा (बोहरा) चयन भएकी छन्। यस्तै प्रवास दक्षिण एसियाबाट हरिप्रसाद घिमिरे केन्द्रीय सदस्यमा सर्वसम्मत निर्वाचित भएका छन्।

यसैबीच केन्द्रीय सदस्यका उम्मेदवार पासाङ शेर्पा र धर्मलाल गिरीको उम्मेदवारी खारेज गरिएको निर्वाचन आयोगले जनाएको छ।

एक उपमहासचिवसहित १४ जना केन्द्रीय उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्। उपमहासचिव पदका उम्मेदवार राजेन्द्र गौतमले उम्मेदवारी फिर्ता लिएको आयोगले जानकारी दिएको छ।

भृकुटीमण्डपमा जारी महाधिवेशनमा आज नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ। निर्वाचन प्रक्रियामा २ हजार २६३ जना प्रतिनिधि सहभागी हुनेछन्।

प्रतिक्रिया