वैकल्पिक शक्तिले अबको सरकारको नेतृत्व गर्नुपर्छ : मन्त्री घिसिङ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ पुष २०८२, मंगलवार ०५:३९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व नयाँ तथा वैकल्पिक शक्तिले गर्नुपर्ने बताएका छन्।

काभ्रेपलाञ्चोकको बनेपामा आज आयोजित उज्यालो नेपाल पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्दै मन्त्री घिसिङले वैकल्पिक शक्ति बन्ने उद्देश्यका साथ अघि आएका सबै राजनीतिक समूह एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राखे। उनले त्यसको अगुवाइ उज्यालो नेपाल पार्टीले गर्नुपर्ने उल्लेख गरे।

मन्त्री घिसिङले पार्टीभित्र सबैलाई समेटेर अघि बढ्न नेतृत्वलाई आग्रह गर्दै परिवर्तन सजिलो नहुने र काम गर्दै जाँदा चुनौतीहरू आउने बताए। ती चुनौतीलाई सामना गर्दै अघि बढ्न सकेमा मात्रै सार्थक परिवर्तन सम्भव हुने उनको भनाइ थियो।
‘जेनजी पुस्ताको आन्दोलनपछि जुन ढंगले सरकार परिवर्तन भयो, त्यसले अब निर्वाचनपछिको सरकार कस्तो बन्छ भन्ने विषय अझै महत्वपूर्ण बनेको छ,’ उनले भने, ‘त्यो सरकारको नेतृत्व वैकल्पिक शक्ति भनेर चिनिएका सबै मिलेर गर्नुपर्छ, र त्यसको अगुवाइ उज्यालो नेपाल पार्टीले गर्नुपर्छ।’

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य ज्ञानेन्द्र तामाङले सामाजिक न्याय, सुशासन र समृद्धि हासिल गर्न सबै स्वयं अनुशासित भएर लाग्नुपर्ने आवश्यकता औँल्याए। अर्का केन्द्रीय सदस्य शङ्कर ढकालले पार्टी मध्यमार्गी धारबाट अघि बढ्ने स्पष्ट पार्दै, कुलमान घिसिङको नेतृत्वमा विद्युत् क्षेत्रमा अँध्यारोबाट उज्यालोतर्फ रूपान्तरण भएको जस्तै अब देशलाई पनि सही दिशामा अघि बढाउन पार्टीले भूमिका खेल्ने बताए।

केन्द्रीय सदस्य रिमा विश्वकर्माले दक्ष र योग्य व्यक्तिलाई जिम्मेवारी दिएर मात्रै देश निर्माण सम्भव हुने धारणा राखिन्। कलाकारिता पेसामा आबद्ध भए पनि इमान्दारी र लगनशीलताका साथ परिवर्तनका लागि राजनीतिक जागरण फैलाउने जेनजी पुस्ताको प्रेरणाले आफू राजनीतिमा सक्रिय भएको उनले बताइन्।

भेलामा पार्टीका केन्द्रीय सदस्यहरू जितराम लामा, ज्योत्सना सैंजु, सुमी लामालगायतले आ–आफ्ना धारणा राखेका थिए।

जिल्ला भेलाले क्षितिज लामाको संयोजकत्वमा उज्यालो नेपाल पार्टीको काभ्रेपलाञ्चोक जिल्ला समिति गठन गरेको छ। साथै युवा हेर्ने समितिको संयोजकमा निशान्त रत्न बास्ताकोटी र सहसंयोजकमा अविरल लामालाई जिम्मेवारी दिइएको छ। समितिलाई पछि पूर्णता दिइने पार्टीका केन्द्रीय सदस्य जितराम लामाले जानकारी दिए।

प्रतिक्रिया

slot gacor