काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन हुँदैन भनेर भ्रम फैलाउने काम सह्य नहुने चेतावनी दिएका छन्।
सोमबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले एमालेतर्फ लक्षित गर्दै वर्तमान सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका हुन्।
उनले निर्वाचन सरकारको संवैधानिक दायित्व भएको उल्लेख गर्दै त्यसलाई सफल बनाउन सुरक्षा निकायहरूले समयमै आवश्यक योजना तयार गरी निष्पक्ष र व्यावसायिक ढङ्गबाट कार्यान्वयनमा ल्याउनुपर्ने बताए।
मन्त्री अर्यालले भने, ‘निर्वाचनबाट भाग्ने, निर्वाचन हुँदैन भनी भ्रम फैलाउने र सुशासन कमजोर बनाउने काम कहीँ कतैबाट पनि गर्नु र गराउन न्यायोचित हुँदैन।’ साथै उनले सुरक्षा निकायहरूलाई जनताले प्रत्यक्ष महसुस गर्ने गरी कार्यशैली सुधार गर्न पनि सचेत गराए।
उनका अनुसार प्रदेश तथा जिल्लास्तरमा सम्भावित सुरक्षा चुनौतीको पहिचान गरी त्यसअनुसार रणनीति तयार गर्नुपर्नेछ। कानुनको शासनको अवधारणाअनुसार सुरक्षा निकायहरूले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार ढङ्गले आफ्नो दायित्व निर्वाह गर्ने विश्वास पनि उनले व्यक्त गरे।
प्रतिक्रिया