काठमाडौँ । २०८२ भदौ २३/२४ गतेको जेन्जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको प्रहरी वृत्त बौद्धको पुनःनिर्मित भवनको उद्घाटन तथा गृहप्रवेश कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
पुनःनिर्मित भवनको समुद्धाटन प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की ले गरेका हुन्। कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख दीपककुमार रिसाल विशिष्ट अतिथिका रूपमा उपस्थित थिए भने गोकर्णेश्वर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष भुवन लामा लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि, बुद्धिजीवी व्यक्तित्व तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
समारोहमा बोल्दै प्रहरी महानिरीक्षक कार्कीले आन्दोलनका क्रममा क्षति पुगेका संरचनाको पुनःनिर्माणले शान्ति सुरक्षा र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। उनले प्रहरी जनताको सेवामा सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै, यस्ता संरचनागत सुधारले प्रहरी–नागरिक सम्बन्ध अझ सुदृढ हुने बताए।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै गोकर्णेश्वर नगरपालिका प्रमुख दीपककुमार रिसाल ले प्रहरी वृत्त बौद्धको पुनःनिर्माण केवल भवन निर्माण मात्र नभई राज्यको सेवा प्रणाली पुनःस्थापना र जनताको सुरक्षाप्रतिको प्रतिबद्धताको प्रतीक भएको बताए। उनले स्थानीय तह र सुरक्षानिकायबीचको सहकार्यले मात्र शान्ति, सुरक्षा र सुशासन कायम गर्न सकिने उल्लेख गर्दै नगरपालिकाले पनि सुरक्षासम्बन्धी पूर्वाधार सुदृढीकरणमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
मेयर रिसालले आन्दोलनका क्रममा भएको क्षतिले सबैलाई पाठ सिकाएको उल्लेख गर्दै, भविष्यमा संवाद, सहमति र कानुनी प्रक्रियामार्फत समस्या समाधान गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा उपस्थित जनप्रतिनिधि तथा अतिथिहरूले पुनःनिर्मित भवनले स्थानीय स्तरमा सुरक्षा व्यवस्थापन सुदृढ हुनुका साथै प्रहरी–जनसम्बन्ध अझ मजबुत हुने अपेक्षा व्यक्त गरे।
उक्त उद्घाटन तथा गृहप्रवेश कार्यक्रम विभिन्न संघसंस्था, जनप्रतिनिधि र स्थानीय समुदायको सहभागितामा भव्य र सभ्य रूपमा सम्पन्न भएको हो।

प्रतिक्रिया