काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टीमा फर्किन चाहने भए औपचारिक रूपमा निवेदन दिनुपर्ने बताएका छन्।
भृकुटीमण्डपमा जारी एमालेको बन्द सत्र का क्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल ले भण्डारीको पार्टी सदस्यताको विषय उठाएपछि जवाफ दिँदै अध्यक्ष ओलीले राष्ट्रपतिको कार्यकाल अवधिको सदस्यता जोडिने नहुने स्पष्ट पारे।
अध्यक्ष ओलीले भने,
‘उहाँले पार्टीलाई घृणा गरेर वा मन नपरेर सदस्यता छाड्नु भएको होइन। पार्टीप्रति सम्मान र माया नै थियो। राष्ट्रपति हुँदा संवैधानिक व्यवस्थाका कारण छाड्नुभएको हो। फर्किएर आए पनि भावनामा होइन, यथार्थमा चल्नुपर्छ। विद्या भण्डारीको ७ वर्षको कार्यकालको सदस्यता दोहोरिँदैन। त्यो अघि उहाँ एमालेको नेता हुनुहुन्थ्यो, त्यसपछि हुन सक्नुहुन्छ। तर राष्ट्रपतिको बीचको कार्यकालमा सदस्यता जोड्नु कानुनसँगको खेलबाड हो। लिन मन छ भने पार्टीमा निवेदन दिनुपर्छ।’
अध्यक्ष ओलीले विद्या भण्डारी कार्यकारी नभई सेरेमोनियल पदमा रहेकाले पार्टी राजनीतिमा आलोचना र विरोधको चक्रव्यूहमा नफस्दा राम्रो हुने सुझावसमेत दिए।
उनको भनाइले पूर्वराष्ट्रपति भण्डारीको पार्टी भूमिकाबारे एमालेभित्र भइरहेको बहसलाई थप स्पष्टता दिएको विश्लेषकहरूको भनाइ छ।
प्रतिक्रिया