प्रधानमन्त्री कार्की : ‘निर्वाचन तयारीसँगै भ्रष्टाचारविरुद्ध कडाइका साथ कारबाही अघि बढाइरहेका छौँ’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ मंसिर २०८२, शुक्रबार ०६:५६

काठमाडौँ ।  प्रधानमन्त्री सुशीला कार्कीले सरकार निर्वाचन तयारीमा केन्द्रित रहे पनि भ्रष्टाचारविरुद्धको अभियानलाई तीव्रगतिमा अघि बढाइरहेको स्पष्ट भएको छ। बिहीबार सिंहदरबारमा जय मातृभूमि पार्टीको प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्दै उनले सुशासन, पारदर्शिता र जवाफदेहितालाई सरकारको प्रमुख एजेन्डामा रहेको बताइन्।

प्रधानमन्त्री कार्कीले राजनीतिक भाषणभन्दा पनि परिणाममुखी सोच, उत्पादनमुखी काम र जिम्मेवारीपूर्वक नेतृत्व आवश्यक भएको उल्लेख गर्दै, “आर्थिक समृद्धि र सुशासनका लागि जनताले योग्य र इमानदार प्रतिनिधि छान्नुपर्छ,” भनिन्।

भेटका क्रममा पार्टीका वरिष्ठ नेता क्याप्टेन केबी लिम्बू, सहअध्यक्ष रामशरण पाण्डे, महासचिव गोविन्द गिरीलगायतले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाए। ज्ञापनपत्रमा जेनजी आन्दोलनका नाममा भएका दमनकारी गतिविधिको छानबिन तथा भ्रष्टाचारमा संलग्न व्यक्तिमाथि छिटो कारबाही गर्न माग गरिएको थियो।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार पार्टी प्रतिनिधिहरूले सरकारलाई भ्रष्टाचारविरोधी कदममै प्राथमिकता दिन सुझाव दिएका थिए। प्रधानमन्त्री कार्कीले प्राप्त सुझावप्रति ध्यान दिँदै सुशासन स्थापनाका लागि सरकारले आवश्यक कदम कडाइका साथ अघि बढाइने प्रतिबद्धता व्यक्त गरिन्।

प्रतिक्रिया

Leave a Reply