काठमाडौँ । टोखा नगरपालिका वडा नं. ६ स्थित १२ रोपनी सार्वजनिक जग्गामा निर्माण हुने आधुनिक सार्वजनिक पार्कको शिलान्यास बुधबार मेयर प्रकाश अधिकारीले गर्नुभएको छ। उपमेयर मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराई, सम्बन्धित विभागका अधिकारी, वडा अध्यक्ष–सदस्य तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति कार्यक्रमको मुख्य आकर्षण भएको थियो।
शिलान्यास गर्दै मेयर अधिकारीले समुदायमै आधारित आधुनिक पार्क निर्माण नगरपालिकाको विशेष प्राथमिकता भएको बताए। “खुला स्थान संरक्षण, हरियाली विस्तार र सुरक्षित सार्वजनिक स्थल निर्माण टोखाको दीर्घकालीन आवश्यकता हो। यही उद्देश्यसहित आधुनिक संरचनासहितको पार्क निर्माण अघि बढाइएको हो,” उनले उल्लेख गर्नुभयो।
यो परियोजना काठमाडौँ उपत्यका विकास प्राधिकरण (KVDA) को ‘क्लाइमेट रेजिलियन्ट डेभलपमेन्ट इन द काठमाण्डु भ्याली’ कार्यक्रमअन्तर्गत सञ्चालन हुनेछ। योजनाअनुसार हात्तीचोक तथा आसपासका क्षेत्रलाई हरियालीयुक्त, सुरक्षित र वातावरणमैत्री बनाउने लक्ष्यसहित माटो स्थायित्व सुधार, पानी सोसिने संरचना निर्माण, जोखिम न्यूनीकरण र खुला स्थान संरक्षणका काम अघि बढाइनेछ।
परियोजना KVDA द्वारा कार्यान्वयन हुने र संयुक्त राष्ट्र वातावरण कार्यक्रम (UNEP) तथा ग्लोबल इन्भाइरोमेन्ट फेसिलिटी (GEF) को प्राविधिक तथा आर्थिक सहयोग रहनेछ।
पार्क निर्माण सम्पन्न भएपछि टोखा–६ मा व्यवस्थित, हरियालीयुक्त र सर्वसाधारणका लागि सुरक्षित सार्वजनिक खुला स्थान थप विस्तार हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया