काठमाडौं । नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र जोरपाटीका नवनिर्वाचित अध्यक्ष यज्ञ प्रसाद उप्रेतीले आफूमाथि कार्यकक्षमै संगठित समूहद्वारा गरिएको सांघातिक आक्रमणबारे जानकारी गराएका छन्।
बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष उप्रेतीले मंगलबार बिहान करिब १० बजेतिर करिब १००–१५० जना गुण्डाहरू कार्यकक्षमै आइपुगेर आफूलाई कुटपिट गरेको बताए।
उप्रेतीका अनुसार, “म कार्यकक्षमै बसिरहेको अवस्थामा चुल्ठे, मुन्द्रे किसिमका अपरिचित व्यक्तिहरू सयौंको संख्यामा भित्र पसेर आक्रमणमा उत्रिए। मेरो दायाँ हातको पाखुरा र औंलामा चोट लागेको छ, लुगाफाता च्यातिएको छ,” उनले भने।
अध्यक्ष उप्रेतीले उक्त आक्रमण साम्दिन लामाको योजनाबद्ध भूमिकामा भएको आशंका व्यक्त गरे। उनले लामामाथि आफ्नो व्यक्तिगत फाइदाका लागि अनुचित काम गर्ने र आर्थिक अपचलनमा संलग्न रहेको आरोप लगाए। विभिन्न शक्ति केन्द्रको संरक्षणका कारण लामा केन्द्रमा टिकिरहन सफल भइरहेको दाबी पनि उनले गरे।
उप्रेतीले आफूलाई न्याय दिलाउन र दोषीमाथि कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
प्रतिक्रिया