कागेश्वरी मनोहरा । कागेश्वरी मनोहरा नगरपालिकाले आयोजना गरेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बुधबार औपचारिक रुपमा सम्पन्न गरिएको छ। समापन कार्यक्रममा वक्ताहरुले लैङ्गिक हिंसा अन्त्यका लागि चेतना, शिक्षा र सामाजिक दृष्टिकोण परिवर्तनलाई सबैभन्दा महत्वपूर्ण आधार भएको स्पष्ट पारे।
मेयर उपेन्द्र कार्कीले हिंसामुक्त समाज निर्माणका लागि महिला तथा अल्पसंख्यक समुदायलाई शैक्षिक र आर्थिक रूपमा सक्षम बनाउनु अपरिहार्य रहेको बताए। उनका अनुसार, “सशक्तिकरण विना हिंसामुक्त समाजको कल्पना सम्भव छैन।”
उनी भन्छन्— “प्रविधिले सहजता त दिएको छ, तर यसलाई बुझ्न नसक्दा जटिलताहरू सिर्जना भइरहेका छन्, जसले हिंसाका नयाँ आयाम जन्माइरहेको छ। त्यसैले प्रविधिसँगै सचेतता अत्यावश्यक छ।”
उनले बालबालिकालाई संस्कारसहितको गुणस्तरीय शिक्षा र पूर्वीय दर्शनमा आधारित व्यवहारिक ज्ञान प्रदान गर्ने आवश्यकता पनि जोड दिए।
उपमेयर शान्ता थापाले समय परिवर्तन भए पनि लैङ्गिक हिंसा उस्तै रूपमा विद्यमान रहनु चिन्ताजनक रहेको बताइन्।
उनका शब्दमा— “समाजले महिलामाथि हेर्ने दृष्टिकोण नै परिवर्तन नहुँदासम्म हिंसाका रूप फेरिए पनि सार अन्त्य हुँदैन।”
सोही कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले अव्यवस्थित संरचनाले मानव बेचविखन तथा लैङ्गिक हिंसाका घटना बढ्न सहयोग गरेको उल्लेख गर्दै नीति र संरचनात्मक सुधार अपरिहार्य रहेकोमा जोड दिए।
कार्यक्रमको अवसरमा उपमेयर थापाले १६ दिने अभियानमा महत्वपूर्ण योगदान पुर्याउने संस्था तथा व्यक्तिहरूलाई कदरपत्र प्रदान गरिन्।
अभियानले समुदायमा लैङ्गिक समानता, सम्मान र सुरक्षित वातावरण निर्माणतर्फ सकारात्मक प्रभाव पारेको जनाइएको छ। स्थानीय तहबाट निरन्तर रूपमा यस्ता कार्यक्रम सञ्चालन गरिँदा हिंसाविरुद्धको जनचेतना बलियो बन्दै जाने अपेक्षा गरिएको छ।
प्रतिक्रिया