बुढानीलकण्ठ । डिजिटल हिंसा विरुद्ध १६ दिने अभियानको अवसरमा बुढानीलकण्ठ नगरपालिकाले आज बिहान गणेश चोकदेखि नगरपालिकाको प्राङ्गणसम्म सचेतनामूलक र्याली सम्पन्न गरेको छ। र्यालीमा नगरभित्रका विद्यालय, विभिन्न संघ–संस्था, महिला समूह, नागरिक समाजका प्रतिनिधि तथा वडास्तरीय जनप्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
र्यालीको नेतृत्व नगर प्रमुख मिठाराम अधिकारीले गर्नुभएको थियो भने उप–प्रमुख अनिता लामा, नगर प्रवक्ता नवराज भट्टराईलगायत नगरपालिकाका पदाधिकारीहरूको पनि सक्रिय उपस्थिति थियो। सहभागीहरूले डिजिटल हिंसाविरुद्धका सन्देशसहितका प्लेकार्ड, ब्यानर र नारा प्रदर्शन गर्दै समुदायमा सचेतना फैलाए।
यस वर्षको अभियान ‘सबै महिला तथा बालिकाविरुद्धको डिजिटल हिंसा अन्त्य गर्न एकजुट हौं’ (Unite to End Digital Violence Against All Women and Girls) भन्ने नाराका साथ सञ्चालित छ। अभियानको उद्देश्य डिजिटल माध्यममार्फत हुने दुर्व्यवहार, साइबर बुलिङ, अनलाइन ठगी, गोपनीयता हनन तथा व्यक्तिगत सूचनाको दुरुपयोगजस्ता जोखिमबारे सचेतना अभिवृद्धि गर्नु रहेको छ।
र्यालीपछि बुढानीलकण्ठ नगरपालिकाको प्राङ्गणमा विभिन्न विद्यालयका विद्यार्थीहरूले डिजिटल हिंसाविरुद्ध केन्द्रित सडक नाटक प्रस्तुत गरे। कलाकारितामा सहभागी विद्यार्थीहरूले सुरक्षित डिजिटल आचरण, जिम्मेवार अनलाइन व्यवहार तथा हिंसाविरुद्ध बोल्ने साहस विकास गर्नुपर्छ भन्ने सशक्त सन्देश प्रस्तुत गरे। त्यसैगरी बाँसुरी खलले प्रस्तुत गरेको सांगीतिक कार्यक्रममा शान्ति, आपसी सम्मान र सुरक्षित समाज निर्माणका विषयवस्तु समेटिएका थिए, जसले कार्यक्रमलाई अझ आकर्षक बनायो।
कार्यक्रमको अन्त्यमा आयोजित कवि गोष्ठीले डिजिटल हिंसाका विद्यमान चुनौतीहरू र तिनको विरुद्ध एकजुट हुनुपर्ने सन्देश कलात्मक रचना तथा कवितामार्फत व्यक्त गर्यो। कविहरूले महिलामाथिको अनलाइन हिंसा, सामाजिक विकृति र जिम्मेवार डिजिटल समाज निर्माणमा सबैको भूमिकाबारे तर्कसंगत र प्रभावकारी विचार प्रस्तुत गरे।
नगरपालिकाका पदाधिकारीहरूले डिजिटल हिंसाविरुद्धको अभियानलाई आगामी दिनहरूमा पनि निरन्तरता दिइने बताउँदै समुदाय, विद्यालय र सबै नागरिकले संयुक्त रूपमा लागे मात्र सुरक्षित डिजिटल वातावरण निर्माण सम्भव हुनेमा जोड दिए।
प्रतिक्रिया