काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले ‘जेनजी’ आन्दोलनका क्रममा शहीद भएका युवाहरूका सपना पुरा गर्दै देशमा सुशासन र भ्रष्टाचारमुक्त प्रणाली स्थापन गर्नु नै सरकारले प्राथमिकताका साथ अघि बढाउने मुख्य कार्यसूची भएको बताएका छन्।
मंगलबार साँझ नयाँ बानेश्वरमा जेनजी शहीदहरूको सम्झनामा आयोजित दीप प्रज्वलन कार्यक्रममा बोल्दै मन्त्री अर्यालले शहीदले देखेको नयाँ, सक्षम र पारदर्शी नेपाल निर्माण गर्नु सरकारको नैतिक तथा संवैधानिक दायित्व भएको स्पष्ट गरे।
गृहमन्त्री अर्यालले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको बलिदानलाई राज्यले कहिल्यै बिर्सन नहुने उल्लेख गर्दै घाइते तथा प्रभावित परिवारलाई राज्यले सकेसम्म सबै प्रकारका सहयोग, सुविधा र सहजता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।
उहाँले कार्यक्रममा सहभागी शहीद परिवारका सदस्यहरूसँग छुट्टै भेटघाट गर्दै उनीहरूका गुनासा, अप्ठ्यारो तथा सरोकारका विषयमा ध्यानपूर्वक सुनेर आवश्यकीय व्यवस्थापन मिलाइने बताए।
नयाँ बानेश्वरमा आयोजित उक्त कार्यक्रममा जेनजी अभियानका समर्थक, युवाहरू, सरोकारवाला, शहीद परिवारका सदस्य तथा नागरिकको उल्लेखनीय उपस्थिति थियो। दीप प्रज्वलनमार्फत शहीदहरूको सम्झना गर्दै सहभागिले “सुधार, सुशासन र पारदर्शी व्यवस्था” निर्माणको माग दोहोर्याएका थिए।
मन्त्री अर्यालले देशभरका युवाले उठाएको जेनजी आन्दोलन भ्रष्टाचार, दण्डहीनता, राजनीतिक दुरुपयोग र संस्थागत असक्षमताको अन्त्यको स्पष्ट जनआवाज भएको उल्लेख गर्दै आगामी दिनमा सरकार जनताको अपेक्षा अनुरूप परिणाम देखिने गरी काम गर्ने दाबी गरे।
प्रतिक्रिया