काठमाडौँ । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस (डिसेम्बर ९) का अवसरमा मानव अधिकार तथा शान्ति समाज काठमाडौंद्वारा राजधानीमा विरोध प्रदर्शन गरिएको छ। भ्रष्टाचारले सुशासन, विकास र मानव अधिकारमा पार्ने नकारात्मक प्रभावबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले समाजले विविध गतिविधि सहित प्रदर्शन आयोजना गरेको थियो।
कार्यक्रममा समाजका पदाधिकारी, मानव अधिकारकर्मी, विद्यार्थी, महिला समूह, सामाजिक कार्यकर्ताहरू लगायत सर्वसाधारणको सहभागिता उल्लेखनीय थियो। सहभागीहरूले “भ्रष्टाचार अन्त्य गरौँ”, “सुशासन कायम गरौँ”, “उत्तरदायी सरकार, भ्रष्टाचारमुक्त समाज” जस्ता नारासहित शान्तिपूर्ण जुलुस निकाले।
वक्ताहरूले भ्रष्टाचार नेपालको विकासका प्रमुख बाधामध्ये एक भएको उल्लेख गर्दै यसको अन्त्यका लागि राज्यका सबै निकायले जिम्मेवारीपूर्वक कार्य गर्नुपर्नेमा जोड दिए। पारदर्शिता, जवाफदेहिता, कानुनी कठोरता र नागरिक सचेतनाले मात्र भ्रष्टाचारमुक्त राष्ट्र निर्माण सम्भव हुने उनीहरूको धारणा थियो।
समाजले भ्रष्टाचारविरुद्धको जनचेतना अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो।

प्रतिक्रिया